तनहुँ । जेठ ५
‘पहाडकी रानी’ का रूपमा परिचित ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय नगरी बन्दीपुरको विविधता र समृद्धिको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखापत्र संस्थानको प्रतिष्ठित साहित्यिक मासिक पत्रिका मधुपर्क को ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण गरिएको छ ।



एक विशेष समारोहका बीच गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, मधुपर्क का सम्पादक त्रिभुवन वाग्ले, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा,बन्दीपुर भ्रमण बर्षका संयोजक बैश बहादुर गुरुङ, समाजसेवी नमस्ते लालभूमि र शिवलाल प्रधानले संयुक्त रूपमा विशेषाङ्कको लोकार्पण गरेका थिए ।
२०८२ सालको जेठ महिनाको यो विशेषाङ्कमा बन्दीपुरको इतिहास, संस्कृति, प्रकृति, पर्यटकीय सम्भावना, पुराना भवन तथा सम्पदाहरू, जात्रा–पर्व, मौलिक जीवनशैली र स्थानिय पहिचानसँग जोडिएका साहित्यिक रचनाहरू, संस्मरण र फोटोग्राफहरू समावेश गरिएको छ ।
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले भने, “बन्दीपुर विशेषाङ्क साँच्चिकै अर्थपूर्ण अङ्क हो । यसमा बन्दीपुरसँग सम्बन्धित थुप्रै महत्वपूर्ण सामग्री समेटिएका छन । यो अंक पढ्ने जोकोहीले बन्दीपुरको विविधता र समृद्धि बुझ्न सक्नेछन् ।” उनले थप भने, “गत वर्ष फागुन महिनामा मधुपर्कले नेपालका ४० जना स्रष्टालाई बन्दीपुरमा लगेर ‘राष्ट्रिय सिर्जना सम्मेलन’ आयोजना गरेको थियो । सम्मेलनमा सहभागी भएका रचनाकारका साथै अन्य स्रष्टाका रचनाहरू समेत यस अङ्कमा प्रकाशित छन् ।”
मधुपर्कका सम्पादक त्रिभुवन वाग्लेले यो अङ्क तयार गर्न निकै मेहनत गरिएको बताउँदै भने, “सामान्यतया ८० पृष्ठ हुने मधुपर्क यो पटक ११२ पृष्ठको बनेको छ । समावेश गरिएका रचनाहरू खँदिला छन्, र यसरी साहित्य र पर्यटनको संयोजनमार्फत गोरखापत्र संस्थानले एउटा उत्कृष्ट प्रयास गरेको छ ।”
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले मधुपर्क मार्फत बन्दीपुरको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै गोरखापत्र संस्थानलाई धन्यवाद ज्ञापन गरे । उनले भने, “स्थानीय सरकारका तर्फबाट हामी यस्ता कार्यलाई सधैं स्वागत गर्छौं । साहित्यिक रूपमै हाम्रो ठाउँको पहिचान बनेर जानु गौरवको कुरा हो ।”
समाजसेवी नमस्ते लालभूमि र शिवलाल प्रधानले पनि यस्ता विशेषाङ्कहरू मार्फत स्थानको प्रचारप्रसार र गौरव अभिवृद्धिमा सहयोग पुग्ने धारणा राखे ।
।
बन्दीपुर प्राचीन पुरातात्विक सम्पदाले भरिपूर्ण गन्तव्य हो । यहाँको टुडिखेल, शहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र बिन्दबासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीबन, तीनधारा पिकनिक स्पट, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र प्रमुख आकर्षण हुन् ।
नेवार, मगर, गुरुङ लगायत जातजातिका सांस्कृतिक भेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन्। हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरू बन्दीपुरमा रमाउने गरेका छन् ।
डुम्रे बजारबाट करिब ८ किमीको यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केवलकारबाट पनि पुग्न सकिने व्यवस्था छ । ठुलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केवलकार सेवाले ७ मिनेटमै पर्यटकलाई बन्दीपुर पु¥याउने हुँदा आवागमन थप सहज भएको छ ।












