विष्णु मगर । देवघाट, साउन २९
देवघाटका सामुदायिक वनका उपभोक्ताहरु सामुदायिक वन समुहका अध्यक्षहरुको विरुद्ध लगाईएको वन फाडानीको मुद्धा विरुद्ध एक जुट बन्ने भएका छन् । देवघाटका सामुदायिक वन समुहको आयोजनामा विहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा सामुदायिक वन समुहका उपभोक्ताहरुले विकास निर्माणको क्रममा रुख फडानी गरिएको आरोपमा वन समुहका अध्यक्षहरुलाई लगाईएको मुद्धाको प्रतिबाद गर्ने निश्कर्ष निकालेका हुन् ।




उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आफु पनि वितगतमा सामुदायिक वनको अध्यक्ष पदमा रहँदा वन कार्यालयका कर्मचारीवाट पिडित भएको बताए । उनले स्थानिय सरकारले आफ्नो अक र अधिकारले भ्याएसम्म अधिकारको प्रयोग गरि स्थानिय सरकारबाट सहयोग मिल्ने बताए ।

गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले आज ५ वटा सामुदायिक वनका अध्यक्षलाई मात्र मुद्धा लागेको र आफुलाई नलागेको भनेर चुप लागेर बसेमा भोली आफुलाई पनि उक्त मुद्धा लाग्न सक्ने बताए । यसकारण सबै सामुदायिक बनका उपभोक्ताहरु मिलेर मुद्धाको प्रतिबाद गर्नुपर्ने उनले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय महासंघका सचिवालय सदस्य रत्ना घिमिरेले सामुदायिक वनले समाजको र जनताको हितको लागि काम गर्दै आएको तर राज्यका केही कर्मचारिको आँखा लागेको हँुदा मुद्धा लाग्ने गरेको बताइन् । समाजमा बसेर केही गरौ भनेर सामुदायिक वनका समितिहरु भएका हुन्छ अनि तिनिहरुलाइ नै मुद्धा पर्दा त्यस्ता भावनाहरु मर्दै जाने घिमिरेको भनाई थियो । निर्दाेष अध्यक्षहरु माथि नखाएको बिष लागेको भन्दै घिमिरेले यस बारेमा केन्द्रीय महासंघको ध्यानाकर्षण भएको बताइन् ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशव चन्द्र न्यौपानेले जस।ी मुद्धा हालिएको छ, त्यसरी नै फिर्ता लिनुपर्ने बताए । सामुदायिक वनका निर्दाेष अध्यक्षहरु प्रति विना कारण र विना प्रमाण मुद्धा हालेको भन्दै न्यौपानेले यसको विरुद्धमा सम्पुर्ण उपभोक्ताहरु एकजुट हुनुपर्ने बताए । यसरी बिकासको कामहरु गर्दै गर्दा बन फडानी भयो भनेर मुद्दा हाल्ने हो भने देवघाटको बिकास कसरी सम्भव हुने प्रश्न न्यौपानेले गरे ।

देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले वन डिभिजन बाट जसरी मुद्दा हालेका छन तिनिहरुसँंग स्थानिय सरकार, सामुदायिक वन उपभोक्ताहरु, वन महासंघ र राजनिति दल बसि छलफल गरि छानविन गरि दोषी र निर्दाेष सत्य तथ्य छानविन गर्नुपर्ने बताए ।
नेकपा ऐमाले देवघाट गाउँकमिटिका अध्यक्ष भिम गुरुङले कि वाटो बन्द गर्नुपर्ने होइन भने सामान्य कुरामा मुद्धा हाल्न नपर्ने गुरुङले बताए । सम्पुर्ण सामुदायिक वनहरु एक जुट भइ अगाडि बढ्न पर्ने गुरुङले बताए । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष विष्णु कुमार श्रेष्ठले व्यवहारिकतामा आई मुद्धा फिर्ता लिनुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ देवघाट गाउँपालिका स्थानिय वन महासंघका अध्यक्ष प्रविण कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सामुदायिक वन समुहका प्रतिनिधिहरु ल्गायतले मुद्धा फिर्ता लिनुको विकल्प नभएको बताए । उक्त कार्यक्रमको सन्चालन स्थानिय वन महासंघ देवघाटका सचिव एलिजा अधिकारी क्षेत्रीले गरेकी थिइन् ।
सडक निर्माणको क्रममा वन फडाँनी गरेको आरोपमा देवघाटका सांढेवगर सामुदायिक वन, कमलादेवी सामुदायिक वन, गैडाडुङ्गा सामुदायिक वन, सुनाझांक्री सामुदायिक वन र चम्कादेवी सामुदायिक वनका उपभोक्ता समूहका अध्यक्षहरुलाई डिभिजन वन कार्यालय देवघाटले वन फडानी सम्बन्धि मुद्धा चलाएको छ ।
देवघाट गाउँपालिका–५ को दासढुङ्गा पुलको मुख हुँदै मुक्तिनाथ जोड्ने गन्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरको स्तर वृद्धिको क्रममा वन फडानी रेको भन्दै ति पाँच वटा सामुदायिक वनका अध्यक्षहरुलाई मुद्धा चलाईएको हो ।












