काठमाडौं । कार्तिक २४
नेकपा एमालेमा समाहित भएकी नेतृ रामकुमारी झांक्रीले आफू कुनै व्यक्तिगत अवसर र लाभका लागि एमालेमा नफर्किएको दाबी गरेकी छिन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सम्बोधनको क्रममा हजारौं पार्टी सदस्यहरूले प्राप्त गर्ने अवसरमा लामबद्ध हुन एमालेमा आएको बताइन् ।



‘सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हुन्छ । बाँकी नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौं । रामकुमारी झांक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको,’ उनले भनिन्, ‘म आज भन्दैछु, सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन । अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ । व्यक्तिगत अवसर र लाभका लागि होइन ।’

देशमा भएको क्षतिको रिकभर गर्नका लागि एमाले नै उठ्नपर्ने बेला भएको जिकिर गरिन् । उनले जनताको रक्षक एमालेबाहेक अरू कुनै हुनै नसक्ने बताएकी छन् । एकताबद्ध भएर जनतामा गए विश्वास पाउने उनको भनाइ छ ।
उनले भनिन्, ‘तपाईँहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ, मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला । त्यो मलाई स्वीकार्य छ। यो आजको वास्तविकता हो । हामी वास्तविकताबाट टाढा हुन सक्दैन । त्यसैले एमाले भर्सेस जेनजी आन्दोलनका स्टेक होल्डरहरू र पीडित पक्षहरूको ध्रुवीकरण भएको छ ।’ उनले कुनै सर्तबिना नै एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा सामेल भएको बताइन् । तश्विरः नेपाल प्रेस












