तनहुँ । माघ १३
तनहुँको निर्वाचन क्षेत्र नम्बर १ नेपाली काँग्रेसको गढको रुपमा चिनिन्थ्यो । २०७४ साल अघिका सबै निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवारहरु बिजयी हुँदै आएका थिए । तर २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान बिजयी भएपछि उक्त क्षेत्र काँग्रेसको गढबाट वामपन्थी गढमा परिणत भयो ।
पुनः २०७९ को निर्वाचनमा नेकपा माओवादी सहित साना दलहरुसँगको गठबन्धनबाट नेपाली काँग्रेसका रामचन्द्र पौडेलले क्षेत्र नम्बर १ को बिरासत फर्काउन सफल भए तर उनै पौडेल राष्ट्रपति भएपछि रिक्त भएको उक्त क्षेत्रमा २०८० को उपनिर्वाचनमा गोविन्द भट्टराईलाई पराजित गरि राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले बिजयी भए ।



आफ्नो परम्परागत गढमा नेपाली काँग्रेसबाटै विद्रोह गरेर रास्वपा प्रवेश गरेका वाग्ले बिजयी हुँदा काँग्रेस इन्तु न चिन्तु भयो । आफ्नो गढ भत्किएकोमा काँग्रेसी कार्यकर्ताहरु चिन्तित देखिएका थिए । अव फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसले आफ्नो बिरासत फर्काउने दावी गरेको छ । सो को लागि काँग्रेसको उम्मेदवार बनेका छन् उनै भट्टराई । भट्टराईसँग भिडन्तमा दोश्रो पटकको जित निकाल्न आएका छन्, रास्वपाबाट उनै स्वर्णिम वाग्ले ।
अब एक पटक यस अघिको उक्त निर्वाचन क्षेत्रको प्रतक्ष्य र समानुपातिकको प्राप्त मतको विश्लेषण गरौं– २०७९ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा गठबन्धनको उम्मेदवारको रुपमा नेपाली काँग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मत पाई बिजयी भएका थिए । नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए भने तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए । सो निर्वाचनमा पहिलो पटक निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाई सबैलाई अचम्मित बनाएका थिए । राप्रपाका बिनोद घर्तीले २ हजार ४८४ मत पाएका थिए । अन्य उम्मेदवारले एक हजार मत कटाउन सकेका थिएनन् । उक्त निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीका उम्मेदवारहरु थिएनन् । उनीहरुले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गरेका थिए ।
रामचन्द्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएर रिक्त भएको सो क्षेत्रमा २०८० मा भएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले ३४ हजार ९१९ मत प्राप्त गरि बिजयी भएका थिए । नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका थिए । ६ महिनाको अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले करिब २८ हजार ८७५ मत बढाएका थिए भने एमालेले ११ हजार ४९३ मत गुमाएको थियो । काँग्रेसले ५ हजार २३९ मत गुमाएको थियो ।
२०७९ को निर्वाचनमा समानुपातिक तर्फ नेपाली काँग्रेसले २० हजार १५८ मत पाएको थियो । काँग्रेसले उपनिर्वाचनमा पाएको मत उसले यसअघि पाएको समानुपातिक तर्फ प्राप्त मतसँग करिब करिब मिल्छ । नेकपा एमाले १६ हजार ६८३ मत पाएको थियो । एमालेले समानुपातिक भन्दा प्रतक्ष्य तर्फ धेरै मत पाएको थियो तर उपनिर्वाचनमा समानुपातिकको मत समेत जोगाउन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १२ हजार ७७३ मत पाएको थियो । यस्तै नेकपा माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ३ हजार ५७७ र नेकपा एसले ९ सय ५० मत पाएको थिए । अहिले नेकपा माओवादी केन्द्र र नेकपा एस बिच पार्टी एकता भएको छ ।

विगतको उपचुनावको मतको विश्लेषण गर्दा काँग्रेसले दाबी गरे झैं क्षेत्र नम्बर १ मा उसको बिरासत फर्काउन निकै सकस देखिन्छ । उपचुनावमा काँग्रेसको उम्मेदबारको भन्दा रास्वपाको मत १४ हजार ७ सय ९७ बढि रहेको छ । तर यो विचमा मस्र्याङदी र सेतीमादी नदीमा धेरै पानी बगिसकेको भन्दै काँग्रेसले यसपटक रास्वपाका उम्मेदवारलाई करिब पाँच हजार मतको अन्तरले बिजयी हुने दावी गरेको छ । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन भएर युवाहरुको उत्साह बढेको तथा ‘रास्वपालाई जिताएर धोका पाइयो’ भन्दै काँग्रेसमै फर्कनेहरुको संख्या बढेको दावी काँग्रेसका नेताहरुले गरेका छन् ।
२०७९ को निर्वाचन र २०८० को उपनिर्वाचनको मतलाई विश्लेषण गर्ने हो भने रास्वपाले यस पटक उप चुनावमा ल्याएको जति मत ल्याउने अवस्था भने नभएको विश्लेषकहरुले बताएका छन् । उप निर्वाचनमा नेकपा एमालेले खडा गरेको उम्मेदवार पुर्व प्रहरी आईजिपी सर्वेन्द्र खनाल प्रति एमालेका कार्यकर्तामा कुनै उत्साह नभएको कारण पनि एमालेमा परेको ८ हजार भन्दा बढि मत उपचुनावमा रास्वपामा परेको देखिन्छ । त्यसबेला एमालेमा जसरी हुन्छ, तत्कालिन सत्तागठबन्धनका उम्मेदवारलाई हराउने मनोविज्ञान थियो । सोही कारण एमालेका मतदाताले रास्वपालाई मत दिएको हुनसक्छ ।
त्यसबाहेक नेपाली काँग्रेसका पुर्व सह–महामन्त्री गोविन्दराज जोशीको समुह पनि तनहुँमा शक्तिशाली नै मानिन्छ । २०७९ को निर्वाचनमा जोशी स्वयं उम्मेदवार बन्दा ६ हजार ८८६ मत पाएका थिए तर उपचुनावमा जोशीको समुहबाट कोहि पनि उम्मेदवार बनेनन् । उपचुनावमा जोशी समुह खुलेर रास्वपाका वाग्लेलाई जिताउन लागेको थियो । सोही कारण पनि जोशीले प्राप्त गरेको मत रास्वापाका वाग्लेले पाएका थिए । तर यसपटक जोशी समुहबाट कैंची चुनाव चिन्ह लिएर जोशीका छोरा दिपकराज जोशी चुनावी मैदानमा छन्, उनको उम्मेदवारी अन्तिमसम्म कायम रह्यो भने उनको समुहको मत जोशीले नै पाउँछन्, यसमा पनि वाग्लेको मत घट्छ ।
यसैगरि यसपटक नेकपा एमालेबाट प्रभावशाली महिला नेतृ भगवती न्यौपाने चुनावी मैदानमा छिन् । उनी आफु बिजयी हुने दावी सहित आक्रामक चुनावी प्रचारमा छिन् । यदी २०७९ मा एकबहादुर रानाले प्राप्त गरेको मत यसपटक न्यौपानेले पाउने हो भने एमालेले चुनाव जित्ने अवस्था रहन्छ । त्यसकारण पनि वाग्ले कमजोर बन्ने अवस्था रहेको छ ।
यी सबै कारण र फ्याक्टरले गर्दा नेपाली काँग्रेस यसपटक आफ्नो विरासत फर्काउनेमा ढुक्क भएको नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई बताउँछन् । रास्वपाका स्वर्णिम वाग्लेले सांसदको रुपमा तनहुँको विकासमा शुन्य योगदान गरेको कारण पनि यसपटक मतदाताले काँग्रेसलाई नै रोज्ने भट्टराईले बताए । आफुले तनहुँका दुरदराजमा खानेपानी, स्वास्थ्य, सडक, शिक्षा, तथा अन्य भौतिक पुर्वाधारको क्षेत्रमा सांसद नभएपनि ठुलो योगदान गरेको भन्दै भट्टराईले यसपटक काँग्रेस बिजयी हुने दावी गरे । यसपटक काँग्रेसका कार्यकर्ताहरु सबै गुट उपगुट त्यागेर एकताबद्ध बनेको भन्दै काँग्रेसले आफ्नो बिरासत फर्काउने क्षेत्र नम्बर १ का सह सचिव शैलेश खातीले बताए । (लोकवाणी दैनिकबाट)












