तनहुँ । फागुन ६
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले तनहुँ जिल्लाको विकासकोलागि सात अठोट सार्वजानिक गरेका छन् । चुनावी अभियानको क्रममा तनहुँ क्षेत्र नम्बर १ का विभिन्न स्थानमा पुगेका वाग्लेले मतदाताहरुसँगको भेटमा तनहुँको विकासकोलागि विभिन्न सात अठोट सार्जजानिक गरेका हुन् ।



वाग्लेले तनहुँ अर्थतन्त्रको मजबुद हिस्सा भन्दै तनहुँको विकासको लागि कनेक्टिभिटी र पुर्वाधार सुदृढिकरण, कृषि, पशुपालन र सिंचाई मार्फत ग्रामिण अर्थतन्त्रको पुनरुत्थान, शिक्षा, स्वास्थ्य र खेलकुँदः गुणस्तरीय सामाजिक लगानी भन्ने अठोट सार्वजानिक गरेका छन् ।

त्यसैगरि आर्थिक बृद्धीका क्षेत्रगत श्रोत अन्तर्गत नीजि क्षेत्र र रोजगारीको प्रबद्र्धन, सांस्कृतिक सम्पदा मार्फत राष्ट्रिय एकताको सुत्र, व्यवस्थित आवास र शहरी विकास तथा प्रवासी नेपाली मार्फत अन्तराष्ट्रिय सहकार्य गर्ने आफ्नो अठोट रहेको वाग्लेले बताएका छन् ।
वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए । उपनिर्वाचनबाट विजयी भएपश्चात् जनताको नजिक रहेर काम गरिरहेको बताउँदै वाग्लेले सङ्घीय सांसदको काम ऐन, नियम बनाउनुपर्ने भएकाले काठमाडौं बसाइँलाई अन्य दृष्टिकोणले नहेर्न आग्रह गरे ।
‘सङ्घ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ, सङ्घीय सांसदको मुख्य काम ऐननियम बनाउनु हो । कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो,’ वाग्लेले भने । उनले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकांक्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।












