तनहुँ । फागुन १०
तनहुँ जिल्लालाई राष्ट्रिय अर्थतन्त्रको मजबुत हिस्सा बनाउने अठोट सहित राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले आफ्नो चुनावी घोषणापत्र सार्वजानिक गरेका छन् । घोषणापत्रमा वाग्लेले आफ्नो लक्ष्य एवं कार्यक्रमहरुमा सात वटा विषयलाई प्राथमिकता दिएका छन् ।



वाग्लेको पहिलो प्राथमिकतामा कनेक्टिभिटी र पूर्वाधार सुदृढीकरण रहेको छ । जसमा दुरी र लागत घटाई उत्पादनसँग बजारलाई प्रभावकारी रूपमा जोड्ने र लगानीको प्रतिफल सुनिश्चित गर्ने आधारमा सडक निर्माणलाई प्राथमिकता दिई निर्माणाधीन सडकहरु कालोपत्रे गरिने उल्लेख छ । सुरु भइसकेका मुख्य योजनाहरू शीघ्र सम्पन्न गरिने भन्दै उनले कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्रसँग जोडिएका सडकहरूको निर्माण तथा स्तरोन्नति गर्दै आवश्यकताअनुसार नयाँ ट्रयाकहरू खोल्ने प्रतिबद्धता जनाएका छन । वाग्लेले आगामी पाँच वर्ष भित्र घुमाउनेघाटको पुल, गाईघाट पुल, कालिकाटार–ढोढेनी पुल, बरालुङबेशी मोटर पुल, व्यास नगरपालिका वडा नं. ३ र ५ (शान्तिनगर–पाटन) जोड्ने पक्की पुल, भानु नगरपालिका वडा नं. ४ र ६ जोड्ने मराङघाट पुल, बन्दिपुर गाउँपालिका–२ अन्तर्गत पार्चे–हल्थुम्का हुँदै ढाडखोलामा पक्की पुल, धरमपानी–ग्याजाटार जोड्ने विशेष झोलुङ्गे पुल तथा बन्दीपुर–१ मुँडाटार र भानु–१ कल्याणटार जोड्ने पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरि वाग्लेले कृषि, पशुपालन र सिंचाई मार्फत ग्रामीण अर्थतन्त्रको पुनरूत्थान कार्यक्रम अन्तर्गत देवघाट वडा नं. १ र ५ मा टारहरुमा क्रमशः कालिगण्डकी र त्रिशुली नदीबाट लिफ्ट सिँचाइ योजना, भानु वडा नं. १, २, ३, ७ र ८ मा लिफ्ट सिँचाइ योजना, व्यास वडा नं. ७, ५, १०, ११ र १२ मा लिफ्ट सिँचाइ योजना, आँबुखैरनी–६ पिउघर, बन्दिपुर–६ खहरेटार सिँचाइ योजना, भुमर्से, शेराटार र सुखौरामा व्यवसायिक कृषि योजना सन्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरि जग्गा चक्लाबन्दी भएका क्षेत्रहरू भानु–४ तथा बन्दीपुर–१ र ३ लगायतका फाँटहरुमा व्यावसायिक कृषि नमुना कार्यक्रम र थप स–साना टुक्रे जमिनलाई एकिकृत गर्न मेगा चक्लाबन्दी कार्यक्रम सन्चालन गर्ने जनाएका छन् । यस्तै बाढी र कटानबाट बस्ती, कृषि जमिन तथा पूर्वाधार जोगाउन दीर्घकालीन व्यवस्थापन योजना कार्यान्वयन गर्ने तथा चुँदीखोला, बुल्दीखोला, नाउदी खोलाको मानेचौका क्षेत्र, देवघाटको ठिमुरा पुलदेखि बेनी सङ्गम हुँदै कालिभतेरीसम्म तटबन्ध र आँबुखैरेनीमा आवश्यकता अनुरुप दोहोरो तटबन्ध निर्माण गर्ने जनाएका छन् ।
यस्तै शिक्षा, स्वास्थ्य र खेलकुद तर्फ सार्वजनिक शिक्षामा सक्षम शिक्षक, प्रविधि–मैत्री सिकाई र आधारभूत पूर्वाधारसहित व्यापक सुधार, गणित र विज्ञान शिक्षाको गुणस्तर अभिवृद्धिका लागि बन्दीपुरमा बिशेष शिक्षक तालिम केन्द्र स्थापना, भानु नगरपालिकामा कृत्रिम बौद्धिकता र प्रविधिमैत्री शिक्षालाई केन्द्रमा राखी भविष्यका जनशक्ति उत्पादन गर्ने अत्याधुनिक शिक्षालय स्थापना, दमौली प्रदेश अस्पताललाई विशेषज्ञ सेवा सहित ५० बेडमा स्तरोन्नति र बन्दीपुर अस्पताललाई विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति गरी भानु नगरपालिका–१ मा नयाँ अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरि सबै आधारभूत स्वास्थ्यकेन्द्रको सेवालाइ प्रभावकारी बनाउने, देवघाटको वडा नम्बर २ र ३ लाई बिशेष ध्यानमा राखेर एम्बुलेन्ससहितको आधारभूत स्वास्थ्यसेवा, व्यास नगरपालिकामा खेल प्रतिष्ठानसहितको आधुनिक रङ्गशाला निर्माण र भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट–५ मा एक–एक खेलमैदान स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरि वाग्लेले आर्थिक वृद्धिका क्षेत्रगत स्रोत मार्फत निजी क्षेत्र र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत नेपाली नागरिक तथा गैरआवासीय नेपालीलाई नेपालमै बसेर विदेशी कम्पनीमा रिमोट वर्करका रूपमा काम गर्न पाउने कानुनी व्यवस्था गर्दै, तनहुँमा भरपर्दो र सुलभ विद्युत् तथा उच्चगतिको इन्टरनेटसहित आवश्यक पूर्वाधार विकास गरी अन्तर्राष्ट्रिय रोजगारदातासँग जोडिएर गुणस्तरीय रोजगारी सिर्जना, चार लेन सडक, आन्तरिक सडक सञ्जाल, विद्युत् लगायत पूर्वाधार भएको तनहुँ जिल्लालाई औद्योगिक केन्द्रका रूपमा विकास गर्दै निजी क्षेत्रलाई उद्योग स्थापना गर्न सहजीकरण, भानु, देवघाट, बन्दीपुर र व्यासका सम्भावना बोकेका टार क्षेत्रहरूमा र आँबुखैरेनी वडा नं. ३ मा उद्योग संचालन गर्ने निजी क्षेत्रसँग बिशेष पहलगर्ने जनाएका छन् । यसैगरि निर्माणका लागि “रेडी–टु–गो” अवस्थामा रहेको तल्लो सेती (१२६ मेगावाट) जलविद्युत र तनहुँ क्षेत्र नं. १ अन्तर्गत निजी क्षेत्रबाट प्रवर्धन मस्र्याङ्दी नदी (५० मेगावाट) र कालिका कालीगण्डकी (३८.१६ मेगावाट) आयोजनाहरु शुरु गरिनेछ । सबै आयोजनाहरुमा स्थानीय प्रभावित जिल्लावासीलाई सेयर प्रदान गरी अपनत्व सुनिश्चित गरिनेछ । तनहुँ हाइड्रोवाट प्रभावित तल्लो तटीय बेलबास क्षेत्रका बासिन्दाको समस्यालाई प्राविधिक प्रतिवेदनका आधारमा सम्वोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरि बन्दीपुर–डुम्रेलाई अन्नपूर्ण सर्किटको आधार स्टेशनको रुपमा र काठमाडौँ– सौराहा –बन्दीपुर–मानुङकोट पोखरालाई बसाई लम्बाउने र पर्यटकको खर्च बढाउने गरी विकास गर्ने तनहुँ–१ का सबै स्थापित होमस्टेहरूको व्यवसायीकरण र बजारीकरण देवघाट घण्टाचुली क्षेत्र, बन्दीपुर–रानीवन क्षेत्र तथा तनहुँसुर ऐतिहासिक एवम् पर्यटकीय उद्यान योजना सम्पन्न गरी संरक्षित, व्यवस्थित र आयआर्जनमुखी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, निर्माणाधीन प्राणी उद्यानलाई प्राथमिकताका साथ सम्पन्न गर्ने, सबै पालिकाहरूमा सम्भावित पदमार्ग (ट्रेकिङ र हाइकिङ रुट) विस्तार गर्ने तथा बन्दीपुरको सिद्धगुफा र रक क्लाइम्बिङ क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा पूर्वाधारसहित स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरि सांस्कृतिक सम्पदाः राष्ट्रिय एकताको सुत्र कार्यक्रम मार्फत देवघाटलाई विशिष्ट तीर्थ गन्तव्यका रूपमा विकास गर्ने, भानुमा आदिकवि भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय केन्द्र बनाउने छाब्दीबाराही मन्दिर, बुढीमाई छिम्केश्वरी मन्दिर, वसन्तपुर थानीमाई, आदिमुल र बन्दीपुरस्थित बागेश्वरी मन्दिर परिसरको समग्र विकास गरी धार्मिक संरक्षण, पर्यटन प्रवर्धन, पूर्वाधार सुदृढीकरण र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिने, चार वेदका रचयिता व्यास ऋषिको जन्म स्थलमा निर्माणधीन मुर्तिसहित व्यास परासर क्षेत्रको बृहत् विकास गर्ने वाग्लेको प्रतिबद्धता रहेको छ ।
यसैगरि व्यवस्थित आवास र शहरी विकास कार्यक्रम मार्फत सबै निर्माणाधीन खानेपानी आयोजनाहरु सम्पन्न गर्दै अपर्याप्त भएका बस्तिहरुमा नयाँ आयोजना प्रारम्भ गर्ने, आँबुखैरेनी–डुम्रे–भानु–दमौली करिडोरलाई एकीकृत पूर्वाधार, व्यवस्थित बसोबास र आधुनिक शहरी सेवासहित योजनाबद्ध रूपमा विकास गरी दीर्घकालीन रूपमा मेट्रोपोलिटन करिडोरका रूपमा रूपान्तरण गर्ने, बन्दीपुर बजार र दमौलीका सफा सडक क्षेत्रमा विद्युत् तार भूमिगत (अन्डरग्राउन्ड) प्रणालीमार्फत व्यवस्थापन गरी सुन्दरता, सुरक्षा र व्यवस्थित शहरी वातावरण सुनिश्चित गर्ने, देवघाटलाई धार्मिक–आध्यात्मिक नगरीका रूपमा गुरुयोजना तयार गरी तीर्थयात्रीमैत्री पूर्वाधार, स्वच्छता, नदी संरक्षण, सांस्कृतिक सम्पदा संवर्धन तथा व्यवस्थित आवास र सेवासहित योजनाबद्ध सहरका रूपमा विकास गर्ने तथा सुकुम्बासी र भूमिहीन समस्यालाई उच्च प्राथमिकतामा राखी दीर्घकालीन र न्यायोचित समाधान गर्ने वाग्लेले प्रतिबद्धता जनाएका छन् ।

यसैगरि प्रवासी नेपाली र अन्तर्राष्ट्रिय सहकार्य मार्फत अन्तर–नगर समन्वय, नागरिक निगरानी र प्रवासी नेपालीको परिचालनमार्फत स्थानीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्ने तथा तनहुँ मूलघर भई प्रवासमा बसोबास गरिरहेका नागरिकहरूको बिबिध विवरण समेटिएको डाटाबेस तयार गरी शैक्षिक उपलब्धि, उद्यमशीलता, सीप दक्षता, लगानी अनुभव, पर्यटन प्रवद्र्धन तथा अन्य पेशागत विज्ञतासहितको पूजीलाई स्थानीय विकासमा उपयोग गर्ने गरी सहकार्य गर्ने वाग्लेले प्राथामिकतामा राखेका छन् ।
वाग्लेले तनहुँ जिल्ला केवल भौगोलिक इकाइ मात्र नभई यो देवभूमि, भाषा, धर्म, संस्कृति र राष्ट्रिय चेतनाको संगम भएको जनाएका छन् । व्यास, देवघाट र भानुभक्तको भूमिले दिएको धार्मिक, बौद्धिक र सांस्कृतिक योगदानदेखि लिएर आधुनिक राजनीतिक चेत र राष्ट्रिय व्यक्तित्वहरूको उदयसम्मले सिंगो नेपालको आत्मालाई आकार दिएको उनको भनाई छ । सही नीति, पूर्वाधार र संस्थागत सुधारको साथ तनहुँलाई कृषि, उद्योग, पर्यटन र मानव पूँजीको केन्द्रका रूपमा विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने अग्रणी जिल्लामा रूपान्तरण गर्ने विश्वास र दायित्वका साथ तनहुँ क्षेत्र नम्बर १ लाई उत्पादनशील अवसरले भरिएको नमुना क्षेत्र बनाउने उनले प्रतिबद्धता जनाएका छन् ।
वषैभरि चल्ने सडक, सुरक्षित पुल र सार्वजनिक यातायात विस्तार गरी तनहुँलाई पोखरा–भरतपुर–काठमाडौं आर्थिक करिडोरसँग प्रभावकारी रूपमा जोड्ने तथा टार र फाँट केन्द्रित आधुनिक सिँचाइ प्रणाली, उच्च मूल्य कृषि, पशुपालन र कृषिमा आधारित उद्योग प्रवर्धन गरी कृषि क्षेत्रको रूपान्तरण गर्ने भन्दै उनले सार्वजनिक स्वास्थ्य सेवा प्रवाहमा व्यापक सुधार, सुविधा सम्पन्न अस्पताल निर्माण र व्यास–देवघाट–भानु क्षेत्रलाई सांस्कृतिक पर्यटन सर्किटका रूपमा विकास गर्दै स्थानीय रोजगारी र राष्ट्रिय पहिचान सुदृढ गर्ने जनाएका छन् । उद्यममैत्री वातावरण, आईटी र युवा स्टार्टअप प्रवर्धन गर्दै स्थानीय उत्पादन, उद्योग र सेवामार्फत टिकाउ रोजगारी सिर्जना गर्ने तथा सार्वजनिक शिक्षामा अब्बल शिक्षक, प्रविधि–मैत्री सिकाई र आधारभूत पूर्वाधार सहित व्यापक सुधार गर्ने र तनहुँलाई सुविधा सम्पन्न, सुरक्षित शहर र आवासीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।












