एमाले तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार सिग्देलको घोषणापत्र, सुखी नेपाली, समृद्ध नेपाल तथा सामाजिक न्याय र समानता मुख्य उद्देश्य

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार केदार सिग्देलले सुखी नेपाली, समृद्ध नेपालको निर्माण गरि सामाजिक न्याय र समानता कायम गर्नु आफ्नो मुख्य उद्देश्य रहेको प्रष्ट पारेका छन् । आफ्नो चुनावी घोषणापत्रमा सिग्देलले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा नागरिकको सर्वाङ्गिण विकास मार्फत सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्ने प्रष्ट पारेका हुन् । सुखी नेपाली र समृद्ध नेपालको निर्माण गरि सामाजिक न्याय र समानता कायम गर्नु आफ्नो लक्ष्य रहेको सिग्देलले घोषणापत्रमा उल्लेख गरेका छन् ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि सांसदको हैसियतले संविधान र सङ्घीयताको कार्यान्वयन, सुशासन, राष्ट्रिय स्वाधीनता र स्वाभिमान अभिवृद्धिमा इमानदारीपूवर्क भूमिका निर्वाह गरेको भन्दै उनले विधायकको परिभाषित जिम्मेवारी र अधिकार क्षेत्रभित्र रही आफ्नो क्षेत्रको विकास योजना, कार्यक्रम र बजेट विनियोजनमा गरेको योगदान विवरण स्वयले पुष्टि गरेको बताएका छन् ।

सांसद निर्वाचित भएपछि लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यता, नेपालको राष्ट्रिय हितको सम्वद्र्धन, देशको आवश्यकता नवयुवा लगायत आम जनताको चाहना, राष्ट्रिय अन्तराष्ट्रिय अनुभव र असल अभ्यास, वर्तमानको भोगाई र भविष्योन्मूख चिन्तन, लब्धप्रतिष्ठित विषय विशेषज्ञहरूको पैरवी एवं राजनीतिक दलहरुको निश्कर्ष र औचित्यका आधारमा परिपूर्ण लोकतन्त्र, सरकारको स्थिरता र सुशासनका वहुआयामिक पक्षहरुमा पर्ने दीर्घकालीन प्रभावको गहिरो अध्ययन र सुक्ष्म विश्लेषणसहित संविधान संशोधन उपर बुद्धिमतापूर्ण कदमका लागि प्रभावकारी विधायिकी भूमिका निर्वाह गर्ने सिग्देलले प्रतिबद्धता जनाएका छन् ।

जनताको माग र आवश्यकता, समस्याको समाधान, चुनौतीको सामना, अवसरको उपयोग तथा समाजको सर्वाङ्गीण हितलाई मध्यनजर राखी आवश्यक कानुन तथा क्षेत्रगत नीतिहरु तर्जुमा र मौजूदा व्यवस्थामा समयानुकुल परिमार्जन, संशोधन एवं असान्दर्भिक र विभेदकारी प्रावधानहरु खारेज गर्न प्रभावकारी विधायिकी जिम्मेवारी तथा भूमिका निर्वाह गर्ने तथा समाजमा व्याप्त रुढीग्रस्त अन्धविश्वास र सबै प्रकारका विभेद शिक्षा, सचेतना, विशेष अभियान तथा कार्यक्रमहरु मार्फत द्रुततर गतिमा हटाउँदै लैजाने र परंपरागत सामाजिक विश्वास तथा असल अभ्यासहरुमा अन्तर्निहित वैज्ञानिकता उजागर गर्दै समुचित संरक्षण, सम्वद्र्धन तथा विकास गर्नेतर्फ सार्थक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण एवं सुशासन र सुव्यवस्था कायम होस् भन्ने नवयुवा लगायत हामी सबैको साझा राष्ट्रिय एजेण्डाप्रति ऐक्यवद्धता जनाउँदै वृहत् उद्धेश्य परिपूर्तिका निम्ति आफ्नोतर्फबाट इमानदारीपूर्वक हरसम्भव प्रयत्न गर्ने, आर्थिक तथा वित्तीय, सामाजिक तथा सांस्कृतिक, प्राकृतिक, मानव एवं प्राविधिक लगायत स्रोतसाधनको सही पहिचान तथा प्रभावकारी व्यवस्थापन मार्फत दिगो र सन्तुलित विकास तथा समृद्धि हासिल गर्न तहगत अन्तर–आवद्धतामा आधारित सम्भाव्य कार्यक्रमहरु सञ्चालनका लागि मन, वचन र कर्मले सदा समर्पित रहने उनको प्रतिबद्धता छ ।

वि.सं. २०२० असोज ५ गते साविक किहुँ गाविस ७ हालको भिमाद नपा–१ बोममा जन्मिएका सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एम.ए.) र बिएल अध्ययन पुरा गरेका छन् । सिग्देलले २०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई अनेरास्ववियु र तत्कालीन नेकपा (माले) सम्बद्ध विभिन्न कमिटीहरूमा सङ्गठित रही सक्रीय भूमिका निर्वाह गरेका थिए । त्यसैगरि २०३८/०३९ सालमा आसाम/मेघालयबाट नेपालीहरूलाई जबर्जस्तरुपमा खेद्ने कदम विरोधी आन्दोलनमा उनको सक्रिय सहभागिता रहेको थियो । २०४० माघ १ गतेको पिस्कर हत्याकाण्ड विरोधी आन्दोलनको सिलसिलामा नेपाल ल क्याम्पस र जिल्लाको दक्षिण–पश्चिम भेगमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सिग्देल २०४३ सालको निर्वाचनमा जनपक्षीय उम्मेदवारहरू उठाई चुनाव उपयोग गर्ने नीतिको पक्षमा सक्रीय कियाशील रहेका थिए ।

२०४६ सालको संयुक्त जनआन्दोलनमा तनहुँ जिल्लाको दक्षिण–पश्चिम क्षेत्रको मोर्चाको सशक्त र प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी वि.सं २०४८, २०४५, २०५१, २०५४, २०५६, २०६४ र २०७० सालका आमनिर्वाचन तथा स्थानीय निकायको चुनावमा आफू उम्मेदवार नभई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सक्रिय भुमिका निर्वाह गरेका थिए । साथै २०६२/०६३ को ऐतिहासिक लोकतान्त्रिक जनआन्दोलनमा सशक्त नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
दुई कार्यकाल नेकपा एमालेको निर्वाचित जिल्ला अध्यक्ष र नेकपाको समेत जिल्ला अध्यक्षको जिम्मेवारी पाई कुशल सङ्गठकको भूमिका निर्वाह गरेका सिग्देलले १० औं महाधिवेशन पश्चात एमालेको मनोनित केन्द्रिय सदस्य र ११ औ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भई तनहुँ इन्चार्जको जिम्वेवारी पाएका छन् ।

सिग्देल विगतमा २०७४ देखी २०७९ सम्म प्रतिनिधि सभा सदस्य रहँदा तनहुँ क्षेत्र नम्बर २ को विकास कार्यमा उल्लेख्य योजना र बजेट विनियोजन गर्न सफल भएका थिए । सिग्देलको पहलमा जिल्लास्तरीय सडकको रुपमा रहेको भिमकाली सडकलाई राष्ट्रिय राजमार्गमा स्तरोन्नति/कृष्णमार्ग, श्रृङ्गपथ र सृजनामार्गलाई एकीकृत गरी गाईघाट–गल्याङ वैकल्पिक राजमार्गको रुपमा विकास गरिएको थियो । त्यसैगरि ढोरवाराही मार्ग (दुलेगौडा–ढोरफिर्दी–साँखे–सालडाँडा–विरुवा रामपुर) र झापुटार–चालिसे सहायक राजमार्ग दुईवटा सडकलाई रणनीतिक सडकको रुपमा स्तरोन्नति गराई बजेट वृद्धि गरिएको, पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकलाई चार लेनमा विस्तार गराउन संसदको विकास तथा प्रविधि समिति मार्फत पहल गरेका थिए । उक्त सडक हाल सम्पन्न हुने चरणमा रहेको छ । त्यसैगरि सिग्देलको पहलमा खैरेनीटार–भिमाद–कावासोती सडकअन्तर्गत खैरेनी–भिमाद सडक खण्ड विस्तार एवम् कालोपत्रेका लागि संघीय सरकारबाट बजेट विनियोजन गराई निर्माण कार्य सम्पन्न भएको थियो ।

जिल्ला र मुख्यतः निर्वाचन क्षेत्र–विशेषमा सञ्चालित विकास पुर्वाधार तथा कार्यक्रमहरुको नियमित अनुगमन, आवधिक मूल्याङ्कन र समीक्षासहित थप प्रभावकारिताका लागि सम्बन्धित निकाय तथा पदाधिकारीहरुलाई सजग गराई आवश्यकतानुसार आम उपभोक्ताहरु समेतको सहभागितामा समुचित दवाव सिर्जना गरी आयोजनाहरु निर्धारित लागत र गुणस्तरमा तोकिएको पूर्वनिर्धारित समयसीमाभित्रै सम्पन्न तथा सञ्चालन हुने सुनिश्चितताका लागि विशेष पहल गर्ने उम्मेदवार सिग्देलले प्रतिबद्धता जनाएका छन् ।

स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको निर्वाध प्रयोगको माग राखी नवयुवाहरूले गरेको गत भदौ २३ गतेको प्रदर्शनमा बाहिरिया अवाञ्छित तत्वहरुको नियोजित घुसपैठका कारण सिर्जित अकल्पनीय मानवीय हताहतीको अग्रीय घटना र २४ गतेको राज्य विप्लव तथा विध्वंसकारी उपद्रोले सिङ्गो देश सङ्कटपूर्ण अवस्थामा धकेलिएको हुँदा कुनै आग्रह–पुर्वाग्रह नराखी एवं हस्तक्षेप रहित तरिकाले घटनाको निश्पक्ष र तथ्यपरक न्यायिक छानविन गरी दोषीउपर विनाकुनै मोलमोलाहिजा कानून वमोजिम कारवाही गर्ने, गराउने प्रक्रियामा जनप्रतिनिधिको हैसियतले सशक्त भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

सङ्घीय, प्रादेशिक र स्थानीयतह सम्बद्ध कानुनी, नीतिगत, संस्थागत एवम् संरचनागत प्रावधानका बीच समुचित समन्वय र सहजीकरणका लागि भरमग्दुर प्रयास गर्ने, सङ्घीय सर्वाङ्गीण विकाससम्बन्धी दीर्घकालीन गुरुयोजना, आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रम र बजेट विनियोजन व्यवस्थालाई पूर्ण रुपमा जनताको माग, आवश्यकता, समस्याको यथो चित सम्बोधन र औचित्यपूर्ण बनाउन इमानदार प्रयत्न गर्ने, तीनै तहका सरकारको क्षेत्राधिकार अन्तर्गत निर्माणाधीन साना तथा मझौलास्तरका सडक, पुल, खानेपानी लगायतका आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न र प्राथमिकताको आधारमा नयाँ योजनाहरू समावेश गर्न विशेष पहल गर्ने उनको योजना रहेको छ ।

शालिग्राम करिडोर लगायत प्रदेश सरकारका गौरवका आयोजनाहरू, तनहुँ जिल्ला अन्तरगतका राजमार्गहरु, प्रादेशिक मार्गहरु, मोटरेवल पुलहरु र स्थानीय स्तरका सडकहरुको कालोपत्रे गरी दिगो र गुणस्तरीय यातयात सुविधाको प्रत्याभुतिका लागि सम्बन्धित निकायमा पहल गर्ने, निर्वाचन क्षेत्रभित्रका पालिकाका केन्द्रबाट सबै वडा कार्यालयसम्म पुग्ने सडकहरू कालोपत्रे गर्ने काम सम्पन्न गर्ने, निर्वाचन क्षेत्रभित्रका ऐतिहासिक, सामाजिक–सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण सम्पदास्थलहरूको पहिचान तथा संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिने तथा सार्वजनिक तथा सरकारी जग्गाको एकीकृत लगत तयार पारी समुचित संरक्षण, उपयोग र विकास गर्ने उनको योजना रहेको छ ।

यस क्षेत्रमा सञ्चालित क्याम्पसको भौतिक संरचना र जनशक्तिको दिगो व्यवस्थापन गरी स्नातकोत्तरतह सञ्चालन गर्न विशेष पहल गरिने छ, एक पालिका एक आदर्श विद्यालय निर्माण गरिने छ, शिक्षालाई रोजगारी र रोजगारीलाई उत्पादनसँग जोडिने छ । यसका लागि भौतिक पूर्वाधार र दक्ष जनशक्तिसहित प्राविधिक शिक्षाको विस्तारमा प्राथमिकता दिइनेछ ।

आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न उमेर समूहका नागरिकहरूको शारीरिक तथा सामाजिक विकासका लागि रङ्गशाला, व्यायामशाला, खेलकुदग्राम तथा खेलमैदानको व्यवस्था गर्ने, प्रचलित भू–उपयोग ऐन तथा नियमावली बमोजिम जमिनको वर्गीकरण र त्यसका आधारमा तयार पारिने भू–उपयोग नीतिअनुसार कृषि जमिनको संरक्षणलाई विशेष प्राथमिकता दिने, आवास क्षेत्रमा एकीकृत बस्तीहरूको विकास गरी बाढी–पहिरो लगायतका प्राकृतिक प्रकोपबाट हुने मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्ने तथा निर्वाचन क्षेत्रभित्र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रुपमा रहेका घरपरिवारलाई यथाशीघ्र प्रक्रिया अगाडि बढाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने भन्दै सिग्देलले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खर/स्याउलाका छानाहरु पूर्णरुपमा विस्थापित गरी लक्षित जनताको घरमा जस्ताको छानाको प्रबन्ध गरिने छ । विद्युतीकरण हुन बाँकी भएका क्षेत्रमा विद्युतीकरण गरी गुणस्तर र भरपर्दो सेवाका लागि केवुलतार, स्टील पोलको व्यस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको भौतिक संरचना र स्रोतसाधन वृद्धिगरी सर्वशुलभगुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनकोलागि सहयोग गर्ने, आधारभूत अस्पतालहरुका भौतिक संरचनाको निर्माण कार्य यथाशीघ्र सम्पन्न गरिनेछ । प्रत्येक वडामा सर्वशुलभ र सुविधाजनक एम्बुलेन्स सेवाको पहुँच पु¥याउने, आधुनिकीकरण र बढ्दो सहरीकरण सँगसँगै वृद्धि हुँदै गएका सामाजिक अपराधका घटनाहरु न्यूनीकरण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न आवश्यकता अनुसार नयाँ प्रहरी चौकी स्थापना गर्ने साथै, सञ्चालनमा रहेका प्रहरी चौकीहरूको स्तरवृद्धि समेत गर्ने सिग्देलको योजना रहेको छ ।

एक सचेत राजनीतिक तथा सामाजिक कार्यकर्ताको रुपमा झण्डै पाँच दशक जनताको साथमा पार्टी र जनप्रतिनिधिको भूमिकामा रहँदा आफुले अनुभूत गरेको, जनताहरुबाट माग गरिएका तथा बारम्वारका भेटघाट, छलफल र विभिन्न फोरममा उठाइएका आर्थिक–सामाजिक विकास सम्बद्ध असंख्य सवालहरुसमेत आफ्नो हृदयको गहिराइ र स्मृतिमा ताजा रहेको भन्दै सिग्देलले एक जिम्मेवार राजनीतिक कार्यकर्ता हुनुको नाताले आफ्ना सबै औपचारिक, अनौपचारिक अभिव्यक्तिप्रति नैतिक रूपले जवाफदेही रहेको र रहिरहने बताएका छन् ।

एमाले तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलका केही विशिष्ट मौलिक पहिचान रहेका छन् । एमालेका कार्यकर्ताहरुको शब्दमा सिग्दलले सिङ्गो जीवन निःस्वार्थरुपमा समाजसेवामा समर्पण गरेका छन् । साथै सादा जीवन उच्च विचार आदर्शका सच्चा अनुयायी, श्वच्छ आर्थिक छवि उच्च नैतिक चरित्रका पर्याय, विधायिकी जिम्मेवारी र योग्यताबीचको तादम्यता, कर्तव्यनिष्ठता, लगनशीलता र लक्ष्यप्रतिको दृढता, अनुभव–इमान–सक्षमता, जगजाहेर काफी सवलता, इमानदारीता र विश्वसनीयताका सजीव धरोहर, निरङ्कुशता विरोधी आन्दोलनको जिउँदो शहीद, जनताका माग र संभाव्य सम्बोधनका पारखी, आचरणमा सदाचार–जनताप्रति वफादार उनका विशेषता हुन् ।

त्यसैगरि श्रमप्रति गहिरो लगाव, निष्ठा र सम्मान, देशभक्त सपुतहरूप्रति अगाध श्रद्धाभाव, भ्रष्टाचारका विरुद्ध सम्झौताहीन संघर्ष, विचारका सच्चा–वचनका पक्का, सुखदुःखका साथी–विकासका सारथी, जनमनको धड्कन–समाजको स्पन्दन, संघर्षको मैदानमा–सदा अग्रिम मोर्चामा, जनताको कारिन्दा–स्थानीय बासिन्दा, कानुनका विद्यार्थी–राजनीतिका शिक्षार्थी, सुशासनको जनादेश–उनको लागि कार्यादेश, जनआवाजका संवाहक–एक सुयोग्य उम्मेदवार, विचार–दृष्टिमा प्रस्टता–अभिव्यक्तिमा प्रखरता, स्रोत परिचालनमा कुशाग्रता–निर्णय आधारमा बस्तुनिष्ठता तथा जनजीवीका सवालका ज्ञाता–सामाजिक–मनोविज्ञानका अध्येता सिग्देलको विशेषता रहेको एमालेका कार्यकर्ताहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी