तनहुँ । फागुन १०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नम्बर २, का उम्मेदवार केदार सिग्देलले एमालेले जनपक्षिय काम गरेको बताएका छन् । प्रतिनिधिसभाको निर्वाचनको सन्र्दभमा तनहुँको क्षेत्र नम्बर २ को ऋषिङ गाउँपालिकाको विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट कार्यक्रम सिग्देलल सो कुरा बताएका हुन् ।



‘पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा एमालेको सरकारले जेष्ठ नागरिकको जीवननिर्वाहका लागि सामाजिक सुरक्षा लागु गरेको थियो, जुन भत्ता अहिले जीवनका सारथी बनेको छ । अहिले त्यो रकम मासिक ४ हजार पुगेको छ । यो एमाले सरकारले गरेको हो ।’ सिग्देलले भने ‘एमाले सरकारले एकलभत्ता, विधवा भत्ता, अपाङ्गताभत्ताका साथै विद्यालयमा विद्यार्थीको लागी खाजा खानाको व्यवस्था गरेको छ । यो कामहरु जनपक्षिय काम हुन् । जसलाई जनताले वुझन आवश्यक छ ।’

देशमा गरिव तथा विपन्न बर्गको स्याउला, खर तथा फुसको छानो हटाएर टिनको पाताले छाउने व्यवस्था एमालेकै सरकारले ल्याएको भन्दै सिग्देलले यो व्यवस्थाले देशका गरिव वर्गलाई धेरै राहत दिएको बताए । एमालेको सरकारले देशभरिका स्थानिय तहहरुमा सर्वसुलभ रुपमा जनताले स्वास्थ्य सेवा पाओस भन्ने हेतुले अस्पताल निर्माण गरेको पनि सिग्देलले बताए ।
‘म सासंद हुँदा यस क्षेत्रको गाईघाट गल्याङ सडक खण्ड स्तरोन्नतीको लागी ४० करोड वजेट विनियोजन भएको हो । त्यो वाटो निर्माणमा चरणमा रहेको छ । ठेकेदार कम्पनिको वदमासीको कारण अलपत्र परेको यो वाटो अदालतको निर्णय सँगै अव निरन्तरता पाउने भएको छ ।’ सिग्देलले भने ‘यहि बाटो निर्माणका लागी अव ३० करोडको वजेट टेण्डर पक्रियामा गएको छ । यो सँगै जनताको जित भएको छ । जसले गर्दा गाईघाट देखि गल्याङ सम्म सरर मोटर चल्नेछ । यो सँगै यस भेगका जनताले प्रत्यक्ष लाभ पाउनेछन् ।’

यसैगरि शालिकराम करिडोरको काम पनि अगाडी बढेको र शाखा बाटोहरुलाई मुख्य राजमार्गसँग सँग जोड्ने प्रयत्न भएको उनले जानकारी दिए । विगतमा सांसद हुँदा जनताको आवश्यकतालाई ध्यान दिएर काम गरेको र अव पनि जनताको आवश्यकता पुरा गर्ने नै मेरो मुख्य उद्धेश्य रहेको उनले बताए । आफु जनताको चाहना, आवश्यकता र भुगोल सवैभन्दा नजिकवाट चिन्ने र बुझने उम्मेदवार भएको भन्दै उनले आफ्नो उम्मेदवारी जनताको उम्मेदवारी र मेरो जित नै जनताको जित हुदाँ सवैको सहयोगले यो क्षेत्र वनाउन सकिने बताए ।












