तनहुँ । फागुन १४
तनहुँका मगर समुदायले शुक्रबार विभिन्न कार्यक्रमका ४४ औँ राष्ट्रिय मगर एकता दिवस मनाउने भएका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर संघको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो ।



यसवर्ष यो दिवस ‘ऐतिहाँसिक मगरात सभ्यताको गर्बिलो इतिहाँसलाई पुनर्लेखन गरौं । मगरात दर्शन निर्माणको संकल्प गर्दै, संघको ४४ औं स्थापना दिवस मनाऔं ।’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । भन्ने नारासहित जिल्लास्तर देखी पालिका र वडा तहसम्म यो दिवस विभिन्न कार्यक्रमका साथ मनाईने भएको छ । तनहुँका १० वटै स्थानीय तहमा मगर संस्कृतिमा आधारित झाँकीसहित विभिन्न कार्यक्रम गरि दिवस मनाइनेछ ।
नेपाल मगर संघ तथा मगर समुदाय सम्बद्ध विभिन्न समूहले पालिकासँगको सहकार्यमा कार्यक्रम गर्नेछन् । कार्यक्रममा मगरी भेषभूषासहित मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकी प्रस्तुत गरिनेछ ।
मगर जातिको बाहुल्यता रहेको तनहुँमा दिवसको अवसर पारेर सबै पालिका मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रम हुने नेपाल मगर संघ तनहुँका अध्यक्ष एचवि थापा मगरले बताए । मगर दिवसको अवसरमा शुक्रबार तनहुँका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

मगर संघले भिन्न भिन्न भाषा, धर्म र संस्कृति बोकेको मगरलाई एउटै सुत्रमा बाँधी एकताबद्ध गरेको र अग्रजहरुको ऐतिहासिक संघर्ष र उपलब्धिलाई स्मरण गर्दै फागुन १५ लाई उत्सवको रुपमा मनाइँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा रहेका १४२ जातजातिमध्ये कुल जनसंख्याको तेस्रो स्थानमा मगर समुदाय छ । देशको कुल जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ मध्ये मगर समुदायको ६ दशमलव ९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ छ । नेपाल मगर संघ तनहुँका अध्यक्ष खड्गसिंह थापामगर अनुसार तनहुँमा एक लाख सात हजार मगर समुदायको जनसंख्या छ । जुन तनहुँको कुल जनसंख्याको २६ प्रतिशत हो ।
यसैविच नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँले विज्ञप्ति प्रकाशित गरि मगर दिवसको दिन तनहुँका सबै स्थानीय तहले सार्वजानिक बिदा दिनुलाई ऐतिहासिक मगरात सभ्यता, गर्विलो इतिहास र मगर जातिको पहिचान, जातीय सम्मान र अधिकारका विषयमा यथार्थ स्वीकार भएको महसुस भएको जनाएको छ । गतवर्ष देखि नै तनहुँ जिल्ला भित्रका दश वटै स्थानीय सरकारबाट सार्वजनिक बिदा घोषणा सँगै मगर जाति प्रतिको सम्मान र अधिकारको प्रत्याभुतीको सन्दर्भमा सार्वजनिक बिदा घोषणाले तनहुँ जिल्ला भित्र बसोबास गर्ने एक लाख जनसंख्या रहेका मगरहरुलाई थप अधिकार प्राप्तिमा बिस्वास छाएको संघले जनाएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकार नेपाली नागरिकहरुको हक हित अधिकारका सवालहरुमा, आफ्नो काम कर्तब्यको पालना, व्यवहारिक र कार्यान्वयनका सकारात्मक प्रगतिशिल पक्षान्तर निर्णयहरुमा सदैब दरिलो रुपमा उभिने आशान्वित सहित स्थानीय सरकार प्रमुख साथै सम्पूर्ण टिम प्रति नेपाल मगर संघको जिल्ला समन्वय समिति तनहुँको तर्फबाट धन्यबाद ज्ञापन गरिएको छ ।












