तनहुँ । फागुन १४
जिल्ला प्रशासन कार्यालय तनहुँले प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै सभ्यरुपमा होली मनाउन जिल्लाबासीमा अनुरोध गरेको छ ।



विहिबार सुचना प्रकाशन गरि जिल्ला प्रशासन कार्यालयले यहि फागुन १८ गते परेको रङ्गहरुको पर्व फागु पुर्णिमा (होली) धार्मिक एवं सांस्कृतिक दृष्टीले मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउनका साथै निर्वाचनको सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता परिपालनालाई ध्यानमा राखि जिल्ला स्थित राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज तथा सम्पूर्ण जिल्लावासी नागरिकहरु वीच शान्ति र सौहार्दपूर्ण वातावरण निर्माण गरी धार्मिक सहिष्णुता, जातिय सद्भाव र सामाजिक एकता कायम राख्दै परम्परागत चाडपर्व मनाउन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरेको हो ।
चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरति जवरजस्ती, अमर्यादित तथा उश्रृखल व्यवहार नगर्न तथा नगराउ, आसन्न निर्वाचनलाई मध्यनजर गरी सार्वजनिक स्थान तथा सडकमा डिजे बजाउने तथा होहल्ला गर्ने, जबरजस्ती रङ, अविर तथा लोला हान्ने, फोहोर छ्याप्ने, पानी खन्याउने जस्ता अमर्यादित तथा उच्छृंखल व्यवहार नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
होली पूर्ण रुपमा साँस्कृतिक तवरले आ–आफ्नो घर कम्पाउण्ड भित्र मनाउन, निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी तथा बाटोमा हिँडीरहेका व्यक्तिहरुलाई रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने वा दुःख, हैरानी तथा कस्ट दिने कुनै पनि कानून विपरितका कार्य नगर्न तथा चाडपर्वको नाममा उच्छृंखलता कायम गर्ने अन्य कानून विपरीतका निषेधित कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

विना हेल्मेट मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुईजना भन्दा बढी सवार हुने, ठुलो आवाजमा तथा हर्न बजाउँदै हिड्ने जस्ता कार्यहरु भए गरेको पाईएमा तत्काल यस्ता साधन र व्यक्तिलाई नियन्त्रणमा लिई कानूनी कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
होली पर्वको साँस्कृतिक मूल्यको संरक्षण हुने गरी सानो समूहमा पारिवारिक वातावरणमा मनाउन, ठुला जमघटका कार्यक्रम नगर्न, जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने, दुषित पानी एवं अन्य निषेधित र हानिकारक वस्तुको प्रयोग गर्ने जस्ता गतिविधि नगर्न, सामाजिक, धार्मिक एवं राजनीतिक सद्भाव तथा निर्वाचनको वातावरणमा खलल नपुर्याउन साथै होली पर्वका समयमा सद्भाव खलबलिन नदिने गरी प्रचार प्रसारका कार्यक्रम सञ्चालन नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीद्वारा जारी सुचनामा निर्वाचन तथा चाडपर्वको समयमा जिल्लामा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन, अस्वभाविक मूल्यवृद्धी, कालो बजारी लगायतका कार्य हुन नदिन, जिल्ला भित्र सडक सञ्जालहरुलाई चालु अवस्थामा राख, अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, विद्युत, खानेपानी, दुरसञ्चार, स्वास्थ्य उपचार लगायतका सेवालाई चालु अवस्थामा राख्न पनि अनुरोध गरिएको छ ।
साथै होली तथा अन्य समारोहका नाममा पटाका, भुईचम्पा लगायतका कुनै पनि विष्फोटक सामग्रीको प्रयोग नगर्न/नगराउन तथा सबै पेट्रोलियम पदार्थको बिक्रेताहरुले चाडपर्व तथा निर्वाचनको समयमा खुल्ला रुपमा संवेदनशील पेट्रोलियम पदार्थको बोतलमा विक्रि वितरण नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।












