भर्जन कालिका मन्दिरमा बैशाख ५ गतेदेखी विराट महायज्ञ तथा देवी भागवत हुने

Devghat Online

शेयर गरौ

देवघाट । चैत ५

देवघाट गाउँपालिका–वडा नम्बर ५ पिपलटार स्थित भर्जन कालिका मन्दिरमा आगामी बैशाख ५ गतेदेखी १३ गतेसम्म विराट ज्ञान महायज्ञ तथा देवी भागवत हुने भएको छ । देवघाटकै दोश्रो पुरानो उक्त मन्दिरको देशव्यापी रुपमा प्रचार प्रसार गर्न तथा डिपिआर अनुसारको निर्माण सम्पन्न गर्नको आर्थिक सहयोग जुटाउने उद्देश्यले मन्दिर संरक्षण समितिको आयोजनामा विराट ज्ञान महायज्ञ एवं देवी भागवत आयोजना गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

मन्दिरको महत्व, हालसम्मको निर्माण कार्य, आर्थिक संकलनको उद्देश्य तथा शुक्रबारदेखी हुने नवरात्र मेला एवं बैशाख ५ गतेदेखी हुने विराट ज्ञान महायज्ञ एवं देवी भागवत कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले मन्दिर संरक्षण समितिले मन्दिर परिसरमा विहिबार पत्रकार सम्मेलनको आयोजना ग¥यो ।

उक्त पत्रकार सम्मेलनमा मन्दिर संरक्षण समितिका अध्यक्ष न्यौपानेले मन्दिर निर्माणको लागि हालसम्म एक करोड २५ लाख खर्च भईसकेको र डिपिआर अनुसारको निर्माण कार्य गर्न ३ करोड ७६ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै महायज्ञबाट उक्त रकम संकलन गर्ने अपेक्षा गरिएको बताए । हालसम्म खर्च भएको रकम मध्ये ११ लाख देवघाट गाउँपालिकाले, २ लाख वडा नम्बर ५ कार्यालयले र २ लाख देवघाट क्षेत्र विकास समितिले उपलब्ध गराएको थियो भने बाँकी रकम स्थानीय सामुदायिक वन समुह, टोल विकास संस्था, युवा क्लव, आमा समुह, स्थानीय दानविर भक्तजनहरुले उपलब्ध गराएको न्यौपानेले बताए ।

२०८१ सालमा देवघाटमा माघ महिनाभर लागेको देवघाट महामहोत्सवको समयमा देवघाटको वेणी संगममा स्टल राखी चन्दा संकलन गर्दा ५० लाख भन्दा बढि रकम संकलन भएको भन्दै न्यौपानेले सोही रकमले नै मन्दिर निर्माण गर्न सकिएको बताए । त्यसबाहेक देवघाटमा लाग्ने मकर संक्रान्ति मेला, बाला चतुदर्शी मेला लगायतको महत्वपुर्ण मेलामा पनि स्टल राखेर चन्दा संकलन गर्दै आएको न्यौपानेले बताए ।

उक्त मन्दिरको डिपिआर अनुसारको निर्माण सम्पन्न हुँदा धर्मशाला निर्माण, सचिवालय, ढुङ्गेधारा तथा अमृत जलकुण्ड निर्माण, भक्तजनहरुले स्नानको लागि जलकुण्ड तथा जैविक विविधता संरक्षणकोलागि पानी पोखरी निर्माण, पुष्प वाटिका निर्माण तथा नेपालमै पहिलो मणिदिप क्षेत्रको निर्माण गर्ने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताए ।

भर्जन कालिका मन्दिर निकै ऐतिहाँसिक मन्दिर रहेको र यहाँ शुद्ध मनले भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । मन्दिर भित्रको जलकुण्डमा देवी बिराजमान रहनुभएको विश्वास गरिन्छ ।

मन्दिरको प्रराम्भिक निर्माण कार्य पुरा भएसँगै अव दैनिक पुजा र साँझमा आरती गरिने अध्यक्ष न्यौपानेले बताए । धार्मिक तिर्थस्थलको रुपमा अन्य तिर्थस्थलसँग जोडेर भक्तजनलाई ल्याउने, हरेक वर्षको आश्विन शुक्ल प्रतिपदादेखी पुर्णिमासम्म र चैत्र शुक्लपक्षको प्रतिपदाको दिनदेखी पुर्णिमासम्म विशेष मेला, पुजा र आराधना गरिने र त्यसकोलागि मन्दिरको चारवटै ढोका खोलिने अध्यक्ष न्यौपानेले बताए ।

मन्दिरमा चैत ६ गते शुक्रबार चैत शुक्लपक्षको दिनबाट चैत १९ गते पुर्णिमासम्म नवरात्र मेला तथा विशेष पुजा गरिने भएको छ । यसअवसरमा हरेक विहान चण्डी पाठ गरिने र साँझ आरती गर्ने कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले बताए ।

उक्त पत्रकार सम्मेलनमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भर्जन कालिका मन्दिरको निकै ठुलो महत्व रहेको हुँदा यसको प्रचार प्रसार, सम्बद्र्धन र संरक्षण गाउँपालिकाले सहयोग गर्ने बताए । उनले स्थानीय सरकारसँग श्रोत र साधन निकै कम भएको हुँदा संघीय सरकारसँग उक्त मन्दिरको लागि बजेट बिनियोजन गर्न पहल गर्ने समेत बताए ।

पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले पनि मन्दिरको ऐतिहाँसिकता र महत्वको बारेमा चर्चा गरेका थिए । सो कार्यक्रममा समाजसेवी तथा धार्मिक व्यक्तित्व कुलचन्द्र न्यौपाने, विभिन्न सामुदायिक वन समुहका अध्यक्षहरु, आमा समुह, टोल विकास संस्थाका अध्यक्षहरु तथा स्थानीय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सन्चालन माधव न्यौपानेले र स्वागत मन्दिर संरक्षण समितिका उपाध्यक्ष पन्चबहादुर आलेले गरेका थिए ।

यस्तो छ, भर्जन कालिका माई मन्दिरको इतिहाँस

विगतमा देवघाटमा खानेपानीको अभाव भएपछि त्यस ठाउँका बासिन्दाहरु पानी भर्नको लागि त्रिशुली नदीमा जानु पर्ने बाध्यता रहेको २००६ साल अघि पहाडबाट देघवाटको पिपलटारमा बसाई सरी आएका खड्गजित आलेका नाती पन्चबहादुर आलेले बताए । नदी किनारमा रहेको तातोपानीको कुवामा पानी भर्नुपर्ने बाध्यता रहेको अवस्थामा गाउँका तत्कालिन मुखियाहरु कालिमाटीका रामवरण गुरुङ र पिपलटारका मनबहादुर गुरुङले गाउँमा पानीको मुहान खोज्न निकै चिन्तित भइरहेको अवस्थामा देवघाट गाउँपालिका वडा नम्बर ४ काफलस्वाँरा बस्नुहुने धनबहादुर झिमाल नामको झाँक्री आई देउता बस्ने क्रममा स्वयम कालिका माताले ‘यस ठाउँमा मेरो ठुलो मुर्ती छ, त्यो कोही कसैबाट संरक्षण भएको छैन यदि मलाई कालिका माइको नाममा त्यस मुर्तीको संरक्षण गरि पुजा गरेमा त्यस ठाउँमा पानी निस्कनेछ’ भनेबमोजिम २००६ साल मंसिर ११ गते धान्यपुर्णिमाको दिन उक्त स्थानमा देबीको पुजा सुरुगरेपछि पानी निस्कन थालेको स्थानीय ८४ वर्षिय शुकबहादुर गुरुङ र ८६ वर्षिय धनजित गुरुङले बताए ।

उक्त स्थानमा पानिको मुल निस्किएपछि पिपलटार तथा कालिमाटीका गाउँलेहरुले त्यही मुल कुवाको पानी खाने गर्न थालेको धनजितले बताए । विगतमा गाउँलेहरु भजर्न खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेकोमा दैवी शक्तिले त्यसठाउँमा पानीको मुहान निस्किएपछि त्यसदेवीको नाम नै भर्जन कालिका देवी राखि प्रत्येक वर्ष मंसिर धान्यपुर्णिमाको दिन पन्चवली सहितको विशेष पुजा गर्न थालिएको मन्दिर निर्माण समितिका अध्यक्ष न्यौपानेले बताए । भर्जन कालिका माई मन्दिरमा भाकल तथा दर्शन गर्नाले आफ्नो मनोकांक्षा पुरा हुने स्थानीयहरु बताउँछन् । मन्दिर भित्रको जलकुण्डमा देवी बिराजमान रहनुभएको विश्वास गरिन्छ ।

पछि गलेश्वर बाबा भर्जन कालिका माईको दर्शन गर्न आउने क्रममा जरायो खोलामा रहेको भिमसेन भार गुफामा तपस्या गरि प्रत्येक धान्यपुर्णिमाका दिनमा उक्त मन्दिरमा आई बासबसी भजन किर्तन गरि जाने गर्नुभएको स्थानीय जेष्ठ नागरिकहरुले बताए । स्थापना कालमा उक्त मन्दिर खुल्ला आकाशमुनी रहेकोमा पछि गाउँका मुखियाहरुको पहलमा गाउँलेहरुले काठको बार र खरले छाइ मन्दिर निर्माण गरेका थिए । वि.स.२०४२ सालमा पिपलटारका मेहरमान श्रेष्ठ र उनका कान्छाछोरा सममान श्रेष्ठको पहलमा खरको छाना हटाइ सालका चिरान काठ फलेकले छाएको मन्दिर निर्माण भएको र पुन १० वर्ष अन्तरालमा उक्त फलेक धमिराले खाइ जिर्ण भएपछि २०५२ सालमा सिर्जना युवा क्लवको पहलमा मन्दिर निर्माण गरिएको थियो । त्यस्तै २०७९ सालमा आधुनिक र कलात्मक शैलीको मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको थियो ।

उक्त कालिका माई मन्दिरका साथमा मालिका माई तथा यही आसपासमा जलदेवी माई, झाँक्री देवता, चण्डीमाई, भएँरथान, बुढो बराजु, भोटे लामाको थान रहेको र निम पुजा गर्दा सँगै गरिने गरिएको छ । साथै औंशी र एकादशी बाहेक अन्य दिन पुजा हुने गरेको छ । साथै पुर्णिमा, पञ्चमी र अष्टमीमा विशेष गरि पुजा गर्ने गरिएको छ । यसै गरि यसै कालिका मन्दिरको नामबाट २०३६ सालमा कालिका मावि र पछि २०६४ सालमा सोही मन्दिरको नामबाटै कालिका प्राविको स्थापना तथा विभिन्न टोल विकासको नामकरण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बैशाख २४ पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध