तनहुँ । चैत ९
तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँका १० वटा सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड वितरण गरिएको छ । सांसद वाग्लेको पहलमा युनाईटेड वल्र्ड स्कुल (युडब्लुएस) नेपाल नामको गैरसरकारी संस्था मार्फत तनहुँ क्षेत्र नम्बर १ का १० वटा सामुदायिक विद्यालयमा हालै डिजिटल स्मार्ट बोर्ड वितरण गरिएको हो ।



स्मार्ट बोर्ड वितरण गरिएका विद्यालयहरुमा भानु नगरपालिकाका चार वटा, बन्दीपुर र देवघाटका तिन/तिन वटा विद्यालय रहेका छन् । जसमा भानुको कर्मदा मावि भानु–९, त्रिभुवन मावि भानु–११, नारयणी आवि भानु–५, र चन्द्रावती मावि भानु–७ रहेका छन् ।

त्यस्तै बन्दीपुरको विष्णु मावि बन्दीपुर–१, कालिका मावि बन्दीपुर–२ र अरुण मावि बन्दीपुर–६ तथा देवघाटको कालिका मावि देवघाट–५, राष्ट्रिय मावि देवघाट–४ र कालीगंगा मावि देवघाट–२ लाई पनि डिजिटल स्मार्ट बोर्ड वितरण गरिएको छ । उक्त विद्यालयहरुमा पहिलो चरणमा रङ रोगन र दोश्रो चरणमा स्मार्ट बोर्ड उपलब्ध गराईएको युडब्लुएस नेपाल संस्थाका प्रतिनिधि सफल शर्माले जानकारी दिए ।

प्रविधिमैत्री गुणस्तरीय शिक्षण विधिलाई तनहुँका ग्रामीण भेगका विद्यार्थीहरूसम्म पहुँचयोग्य बनाउने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराईएको संस्थाले जनाएको छ । यसले नेपालको ग्रामीण तथा शहरी शैक्षिक प्रणालीबीचको दूरी घटाउन समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रमका माध्यमबाट विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनलाई शैक्षिक, सामाजिक र प्राविधिक पक्षमा बहुआयामिक लाभ हुने विश्वास गरिएको छ ।












