तनहुँ । चैत १५
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवद्र्धन’ कार्यक्रम सुरु गरेको छ । शनिबार बन्दीपुरबाट सुरु भएको कार्यक्रम बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट हुँदै व्यास नगरपालिका–१४ को कुलुङ, रुम्सी र केशवटार पुगेर एक समारोहका बीच अन्तरक्रिया कार्यक्रम भएको थियो ।



उक्त कार्यक्रम आइतबार केशवटार हुँदै बन्दीपुरको वडा नम्बर ६ स्थित धरमपानी, हुस्लाङकोट, कमलबारी लगायतका स्थान हुँदै वडा नम्बर ५ को कोरिखा भएर पुनः बन्दीपुरमा पुगेर औपचारिक रूपमा सम्पन्न भयो । कार्यक्रम अन्तर्गत रामकोट होमस्टे, कुलुङ होमस्टे, केशवटार होमस्टे र रुम्सी होमस्टेमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा होमस्टे सञ्चालन, पर्यटन पूर्वाधार विकास, पर्यटक आकर्षण गर्ने रणनीति तथा स्थानीय उत्पादनको प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।

उक्त अवसरमा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न १४ वटा होमस्टे र २० भन्दा बढी गाउँलाई समेटेर ७५ किलोमिटर लामो चक्रीय पर्यटन पदमार्ग प्रवद्र्धन गर्नस्थलगत अध्ययन तथा अवलोकन अभियान गरिएको हो ।
उक्त कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा नम्बर २ का अध्यक्ष तिलबहादुर कुँवर, वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भट्टराई, वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङ, वडा नम्बर ३ का सदस्य निरकाजी आले, व्यास नगरपालिका वडा नम्बर ४ का सदस्य दुर्गाबहादुर आले, कार्यपालिका सदस्य नरिमाया राना, नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, पर्यटनविद हरिसिंह गुरुङ, पर्यटन व्यवसायी एवं बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङ, होटल संघ बन्दीपुर इकाई अध्यक्ष फुलमती थापा, बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष तथा होमस्टे एसोसिएसन गण्डकी प्रदेशका पूर्व उपाध्यक्ष बानियाँ, बन्दीपुर गाउँपालिकाका पर्यटन शाखा प्रमुख सुरोज भट्टराई, पर्यटन व्यवसायी सनदकुमार श्रेष्ठ र बसन्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले होमस्टे सर्किटले दुई स्थानीय तहबीच पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले ग्रामीण क्षेत्रका होमस्टेलाई एक आपसमा जोडेर पर्यटकको बसाइ अवधि बढाउने तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए । नगर प्रमुख न्यौपानेले होमस्टे सर्किटको विकासका लागि व्यास नगरपालिका बन्दीपुर गाउँपालिकासँग आवश्यक समन्वय र सहकार्य गर्न तयार भएको बताए ।
त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुरलाई केन्द्रमा राखेर आसपासका गाउँहरूलाई समेत पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताउनुभयो। उहाँले होमस्टे सर्किटले ग्रामीण क्षेत्रको संस्कृति, परम्परा र स्थानीय परिकारको प्रचारप्रसारमा टेवा पुग्ने बताए । ‘पर्यटनलाई दिगो र समावेशी बनाउन होमस्टे सर्किट प्रभावकारी माध्यम बन्न सक्छ । यसका लागि स्थानीय तहबीच सहकार्यलाई अझ बलियो बनाउँदै अघि बढ्छौं ।’ अध्यक्ष थापाले भने ।
कार्यक्रममा पर्यटनविद हरिसिंह गुरुङले होमस्टे सर्किट कार्यक्रमले तनहुँका ग्रामीण बस्तीहरूलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने बताए । गुरुङले स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताए ।

स्थानीय पर्यटन व्यवसायीहरूले पनि होमस्टे सर्किट कार्यक्रमले नयाँ गन्तव्यको पहिचान गराउने, पर्यटकको आवागमन बढाउने र स्थानीय रोजगारी सिर्जना गर्न सहयोग पुग्ने छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै होमस्टेहरूको गुणस्तर सुधार, तालिम, प्रचारप्रसार र पर्यटन प्याकेज निर्माणमा समेत ध्यान दिइने लक्ष्य राखिएको छ ।












