तनहुँ । चैत १५
नवलपुरको बुलिङटार गाउँपालिकाको कोखेटार र तनहुँको ऋषिङ गाउँपालिकाको मधुवन जोड्ने कालीगन्डकी नदीको गडगडीघाटमा निर्माणाधिन पक्की पुल निर्माणमा ढिलाई भएको छ । नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ४ मधुवन जोड्ने पक्की पुल निर्माणको काम ९ वर्ष पुरा हुँदा पनि काम सम्पन्न भएको छैन ।



पटक–पटक निर्माण कम्पनी र कार्यालयलाई अनुरोध गर्दा पनि नौ वर्ष सम्म निर्माण कार्य पुरा नभएकोे नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् नवलपुरका युवा नेता विद्रोही गिरीले बताए । गिरी सहितको टोलीले यस अघि पुल निर्माणमा दवाव दिन पटक पटक सडक विभागको ध्यानाकर्षण गराएका थिए । नवलपुरको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले पनि थपिएको म्यादभित्रै पुलको निर्माण कार्य सम्पन्न गर्न पटक पटक आग्रह गरिएको बताए ।

२०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरासँग सम्झौता भई लुम्बिनी बिल्डर्स–नागर्जुन–स्वच्छद जेवीले काम थालेका थिए । २०७७ बैशाख २८ गते काम सक्नुपर्ने सम्झौता रहेको थियो । समयमा काम नसकेपछि थपिएको अन्तिम म्याद समेत २०८२ चैत्र ७ गते सकियो । हाल पुलको दुईवटा स्पानको काम बाँकी रहेको छ । निरन्तर काम भए अव एक वर्षसम्म पुलको निर्माण कार्य पुरा हुने गिरीले बताए । हरेक हिउँदमा दुई चार जना मजदुर केही समय राख्ने र बर्षा लाग्यो भन्दै काम नगर्दा पुलको निर्माण हुन नसकेको गिरीले बताए ।
२२० मिटर लामो पुलको ६ वटा पिल्लर उठाउनपर्नेमा ५ वटा बनेको र एक वटा पुल उठ्न बाँकी रहेको छ । त्यस्तै एकवटा स्पान ढलान भएको र दुईवटा ढकालको क्रममा रहेको छ । बुलिङटार भित्र थालनी भएका योजनाहरु सम्पन्न गर्न पहिलो प्राथमिकताका साथ लागिएको गाउँपालिका अध्यक्ष सुनारीले बताए ।
निर्माण कम्पनीको लापरबाहीले पूर्वी नवलपरासीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन पुल ९ वर्षदेखि अधुरो रहेको हो । पुल निर्माणका लागि संयुक्त रूपमा काम गर्ने गरी ३ वटा कम्पनीले ठेक्का लिएका थिए । जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले काम पूरा हुन नसकेको पुल सेक्टर कार्यालय पोखराले जनाएको छ । २६ करोड ८२ लाख रुपैयाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी जिम्मेवारी लिएका हुन् ।
पुर्वपश्चिम राजमार्गको कावासोती, दलदले, कोखे सडक हुँदै तनहुँको रिसिङ, भिमाद हुँदै पोखरा आउजाउ गर्न यो पुल निर्माण सम्पन्न भए सहज हुन्छ । कालीगण्डकी करिडोर अन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै भिमाद पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।
नवलपुरको सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुदै पोखरा पुग्ने यात्रुका लागि यो पुलनिर्माण हुँदा यात्रामा १५ किलोमिटरबाटो छोटो हुन्छ । नवलपुरलाई प्रदेश राजधानी पोखरालाई जोड्न पनि यो पुल निर्माण महत्वपूर्ण रहेको छ ।












