तनहुँ । चैत ३०
संघीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपठान कार्य बैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान बैशाख १५ गतेबाट र पठनपाठन बैशाख २१ गतेबाट मात्र सुरु गर्न निर्देशन दिएको छ ।




नेपाल सरकार मन्त्रीपरिषदको चैत २२ गतेको निर्णय अनुसार भन्दै केन्द्रले विद्यार्थी भर्ना अभियान र पठनपाठन सुरु हुने मिति तोकेको हो । केन्द्रले बैशाख २ गतेबाट शैक्षिक कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका निर्माण गर्ने, विद्यालय सुधार सम्बन्धि नीति, योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरु गर्ने तथा विद्यार्थीको सिकाई उपलब्धी सुधार सम्बन्धी कार्यहरु गर्न अनुरोध गरेको छ ।
तर तनहुँका दुई स्थानीय तहले भने संघीय सरकारले तोकेको अवधि अघि नै पठनपाठन सुरु गर्ने भएका छन् । आबुँखैरेनी गाउँपालिकाले बैशाख २ गतेबाट र बन्दीपुर गाउँपालिकाले बैशाख ९ गतेबाट पठनपाठन सुरु गर्ने भएका छन् । ति दुई पालिकाले सोमबार सुचना प्रकाशित गरि पठनपाठन सुरु हुने मिति तोकेका हुन् ।

‘संघीय सरकारले बैशाख २१ गतेबाट मात्र पठनपाठन सुरु गर्ने निणृय गरेपनि नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभुत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धि अधिकार स्थानीय तहको भए बमोजिम स्थानीय तहको आवश्यकतालाई हेरी गाउँ कार्यपालिकाको चैत ३० गतेको निर्णय अनुसार गाउँपालिकाको शैक्षिक क्यालेन्डर बमोजिम गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले बैशाख २ गतेदेखी विद्यार्थी भर्ना अभियान तथा पठनपाठन गर्न गराउन सम्बन्धित सबैमा यो सुचना प्रकाशित गरिएको छ ।’ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानद्वारा हस्ताक्षर गरिएको सुचनामा जनाईएको छ ।

यसैगरि बन्दीपुर गाउँपालिकाले बैशाख ९ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ । गाउँ शिक्षा समितिको निर्णय अनुसार बैशाख २ गते ८ गतेसम्म भर्ना अभियान सन्चालन गर्ने, शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका निर्माण गर्ने, विद्यार्थीको सिकाई उपलब्धी सुधार सम्बन्धी योजना निर्माण गर्ने र बैशाख ९ गतेबाट नियमित रुपमा पठनपाठन सुरु गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद लामिछानेले जारी गरेको सुचनामा जनाईएको छ ।












