तनहुँ । बैशाख ३
मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले शुक्रबारदेखी तनहुँको ऋषिङ गाउँपालिकामा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन आयोजना हुने भएको छ । नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजनामा तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सह आयोजनामा बैशाख ४ र ५ गते ऋषिङ गाउँपालिका–१ झापुटारमा सम्मेलन हुन लागेको हो ।



समयको परिवर्तनसँगै यस्ता मौलिक संस्कृतिहरु लोप हुन खतरा बढ्दै गएको सन्दर्भमा कौराहाको संरक्षण, प्रबद्र्धन तथा नयाँ पुस्तामा हस्तान्तरण आवश्यक देखिएकोले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक पदमबहादुर थापाले बताए । कौराहा नृत्यको मौलिकता संरक्षण तथा प्रबद्र्धन गर्न, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न, कौराहा सम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदान गर्न, नयाँ पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउने उद्धेश्यले कौराहा सम्मेलनको आयोजना गरिएको उनले जानकारी दिए ।

थपाका अनुसार सम्मेलनमा विभिन्न जिल्लाबाट ३० भन्दा बढी कौराहा नृत्य टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । सो कार्यक्रममा करिब १५ हजारको सहभागिता रहने छ । कार्यक्रम सम्पन्न गर्नका लागि रु २० लाख खर्च अनुमान गरिएको छ । सङ्घका केन्द्रीय अध्यक्ष नन्दु घर्ती मगरले कौराहाको मौलिकता हराउँदै गएको अवस्थालाई ध्यानमा राख्दै यसको संरक्षण, प्रबद्र्धन तथा नयाँ पुस्तामा जानकारी गराउने उद्धेश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
नेपाल मगर सङ्घ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले कौराहको उद्गम थलो ऋषिङ भएकाले यही कार्यक्रम आयोजना हुन सकारात्मक रहेको बताए । उनले कौराहा मगर जातिको पहिचान र सभ्यतासँग गहिरो रूपमा जोडिएको सांस्कृतिक सम्पदा भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताए ।
कौराहा विज्ञ एवं कार्यक्रमका विज्ञ संयोजक यमबहादुर आलेले विभिन्न स्थानबाट मौलिक मगर कौराहा नाच, भेषभूषा र खैँजेरीसहित सहभागी हुन आह्वान गर्दै सम्मेलनलाई सफल बनाउन सबैको आर्थिक, नैतिक र भौतिक सहयोग आवश्यक रहेको उल्लेख गरे । कौराहा विशेषगरी ‘६ क’ सँग सम्बन्धित रहेको बताइएको छ । जसमा कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने तथा नचाउने र कसरी बजाउने भन्ने आधारभूत पक्षहरू समेटिएका छन् । नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापाले कौराहाको आफ्नै लय, भाका र शब्द हुने भए पनि यसको सुरुवात र अन्त्यलगायतका पक्षमा पर्याप्त ज्ञानको अभाव हुँदा मौलिकता हराउने जोखिम बढ्दै गएको बताए ।












