गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख ५

देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल विद्यापिठले शैक्षिक सत्र २०८३ को लागि ३० जना विद्यार्थी भर्नाको लागि आवेदन खुलाउँदा १८९ जनाले प्रवेश परिक्षा फारम भरे । तिनीहरु मध्येबाट शनिबार प्रवेश परिक्षा र अन्तवार्ता मार्फत गुरुकुलले ३० जना विद्यार्थी छनौट गरेको छ ।

परमानन्द संस्कृत गुरुकुल विद्यापिठ जस्तै देवघाटकै महेश संस्कृत गुरुकुलले पनि आवश्यक संख्या भन्दा निकै बढि विद्यार्थीको आवेदन परेपछि शनिबार प्रवेश परिक्षा लिएको थियो । महेश संस्कृत गुरुकुलले ३२ जना विद्यार्थीको लागि आवेदन खुलाउँदा २५० भन्दा बढि विद्यार्थीले प्रवेश परिक्षा दिएका थिए । त्यस्तै देवघाटकै अर्काे गुरुकुल बेद बेदाङ्ग संस्कृत विद्यालयले भने आगामी सोमबार प्रवेश परिक्षा सन्चालन गर्ने भएको छ । त्यहाँ पनि आवश्यक संख्याभन्दा निकै धेरै विद्यार्थीले आवेदन भरेका छन् । देवघाटका तिनवटै गुरुकुलले कक्षा ६ मा प्रत्येक वर्ष २५ देखी बढिमा ३५ जनासम्म विद्यार्थी भर्ना गर्छन् ।

पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा वा गुरुकुल शिक्षामा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको देवघाटमा रहेका गुरुकुलहरुमा विद्यार्थीको थेगिनसक्नु चाप भएको परमानन्द संस्कृत गुरुकुलका सहायक प्रचार्य कृष्णदेव पाण्डेयले बताए । देवघाटका गुरुकुलहरु देशमै ख्याती प्राप्त रहेको कारण देशका अन्य गुरुकुल भन्दा देवघाटका गुरुकुलमा विद्यार्थीको आकर्षण यसैपनि बढ्ने गरेको हो ।

विगतमा संस्कृत अध्ययनका लागि पूर्वी नेपालबाट भारतको बनारस र बृन्दावन जाने प्रचलन थियो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराण लगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेका छन् ।

केही वर्षयता गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरुको संख्या बढिरहेको महेश संस्कृत गुरुकुलमका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले बताए । उक्त गुरुकुलले प्रत्येक शैक्षिक सत्रमा बढिमा ३२ जना मात्र विद्यार्थी भर्ना गर्ने भएकोले आवेदन दिएका जती सबैले भर्ना हुन नपाउने पौडेलले बताए । खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले पनि अभिभावकहरुको रोजाइ गुरुकुल हुने गरेको छ । त्यसबाहेक संस्कृत भाषा र हिन्दू धर्मप्रतिको बढ्दो आकर्षणले समेत विद्यार्थीहरु गुरुकुल आउने पौडेलले बताए ।

देवघाटमा सन्चालित सबै गुरुकुलहरु दाताको भरमा नै सन्चालन हुँदै आएका छन् । राष्ट्रियता तथा विश्वबन्धुत्वको भावना विकास गर्नका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञान विज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले ति गुरुकुलहरु सञ्चालित छन् ।

गुरुकुलहरुले बटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिँदै आएका छन् । देवघाटमा बटुककालागि महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र बालिकाहरुको लागि माताजीले सञ्चालन गरेको माँ कल्याणी बैदिक कन्या गुरुकुल सन्चालनमा छन् ।

देवघाटमा सन्चालित सबै गुरुकुलमा करिब सात सय बटुक अध्ययनरत रहेका छन् । प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म बटुक अध्ययनरत छन् । महेश संस्कृत गुरुकुलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर) पढाई भईरहेको महेश संस्कृत गुरुकुलका प्रधानाचार्य पौडेलले जानकारी दिए । त्यस्तै परमानन्द संस्कृत गुरुकुलमा पनि आचार्यसम्मको पठनपाठन पनि सुरु गरिएको छ । त्यस्तै वेद वेदाङ्गमा शास्त्रीसम्मको पढाइ हुन्छ ।

ति सबै गुरुकुलले राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएका छन् । शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको छ । सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवाससहित बटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ ।

गुरुकुलको नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी खर्चको व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, बटुकलाई खान र शिक्षाका लागि खर्च छुट्याइन्छ भने भौतिक तर्फ पुर्वाधार निर्माणमा खर्च हुने गरेको छ । गुरुकुल सन्चालनको लागि महेश सन्यास आश्रम र गलेश्वर आश्रमले यस अघि २०७५ र २०७६ मा बृहत ज्ञान महायज्ञ आयोजना गरेका थिए । उक्त दुबै महायज्ञको तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन । उक्त महायज्ञबाट संकलित रकम गुरुकुल सन्चालन र भौतिक पुर्वाधार निर्माणमा खर्च गरिएको थियो ।

त्यसबाहेक दाताहरुलाई आग्रह गरि बटुकको एक वर्षकोलागि सबै खर्च व्यवस्थापन गर्ने गरि पनि सन्चालन गरिएको छ । केहीले अन्नदान पनि सहयोग गर्ने गरेको गलेश्वर आश्रमका सन्चालक महेन्द्र प्याकुरेलले बताए । नेपाल सरकारले देवघाटका हरेक गुरुकुललाई बर्षेनी एक जना शिक्षक बराबरको अनुदान मात्र उपलब्ध गराएको छ । यसबाहेक गुरुकुललाई मूलधारको शिक्षामा जोड्न नेपाल सरकारको पाठ्यक्रमलाई समावेश गरिएको छ । संस्कृत विषय छुट्टै नभई मूलधारकै विषय भएको तर्फ सरकारको ध्यानाकर्षण हुनु पर्ने महेश सस्कृत गुरुकुलका प्राधानाचार्य पौडेलले बताए ।

महेश संस्कृत गुरुकुलमा भारतको काशी, बनारस लगायत विभिन्न ठाउँबाट पनि बटुकहरु अध्ययन गर्न आएका प्रधानाचार्य पौडेलले बताए । देवघाटधाममा सञ्चालित गुरुकुल पवित्र स्थलमा रहेकाले पनि यहाँको गुरुकुलमा भारतबाट बटुक संस्कृत शिक्षा लिन आउने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू