बजेट अभावमा देवघाट क्षेत्रको गुरुयोजना १६ वर्षदेखी अलपत्र

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख ६

प्रसिद्ध धार्मिक स्थल देवघाट क्षेत्रको बृहत्तर विकासकोलागि तयार गरिएको देवघाट गुरयोजना बजेटको अभावमा १६ वर्षदेखी अलपत्र परेको छ । देवघाट क्षेत्रको समुचित र दिगो विकासका लागि साविकमा रहेका भौतिक पुर्वाधारहरु, प्राकृतिक स्वरुप, धार्मिक तथा सांस्कृतिक क्रियाकलाप, ऐतिहाँसिक पृष्ठभुमीको विकासको लागि देवघाट क्षेत्र विकास समितिले २०६४ सालमा देवघाट गुरुयोजना तयार गरेको थियो । उक्त गुरुयोजना नेपाल सरकारले २०६६ असोज १ गते स्विकृत गरेको थियो ।

देवघाट क्षेत्र विकास समितिले देवघाट क्षेत्रको गुरुयोजना तयार पार्दा योजनाको विस्तृत विवरणका साथ १ अरब २२ करोड ४५ लाख १५ हजार रुपैयाँको अनुमानित लागत रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । गुरुयोजना तयार गरिएको १६ बर्ष भईसक्दा पनि उक्त गुरुयोजना अनुसारको कामहरु हुन नसकेको बरालले बताए । यसको मुख्य कारण नै बजेट अभाव भएको उनले बताए ।

सरकारले गुरुयोजना स्विकृत गरेपनि त्यसकोलागि बजेट भने बिनियोजन नगरेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । त्यसबेलाको गुरुयोजनाले बर्तमानको माग र आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै पौडेलले मुख्यकुरा बजेट अभावमा गुरुयोजना कार्यान्वयन हुन नसकेको बताए ।

देवघाट क्षेत्र विस्तृत र विशाल भएकोले गुरुयोजनाले समेटेका अनेकौं योजनाहरु एकैसाथ सम्पन्न गर्न आर्थिक श्रोत र प्राविधिक दृष्टिले पनि सम्भव नहुने हुँदा प्राथमिकताको आधारमा चरणबद्ध रुपमा काम गर्दै जानुपर्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारीले बताए । उक्त गुरुयोजना पुर्ण रुपमा कार्यान्वयन हुन सकेमा देवघाट क्षेत्रको बृहत्तर विकास हुने अध्यक्ष लौडारीले बताए ।

गुरुयोजनाले लक्षित गरेका केही योजनाहरु नेपाल सरकार, स्थानीय तहहरु र देवघाट क्षेत्र विकास समितिको प्रयासमा सम्पन्न भएको र बृहत स्वरुपका योजनाहरु कार्यान्वयनका लागि नेपाल सरकार, दातृ राष्ट्र र दातृ संस्थाहरुको साथ र सहयोग अनिवार्य हुनुपर्ने समितिका अध्यक्ष लौडारीले बताए । समितिले आगामी आर्थिक वर्षमा तनहुँ तर्फ शालिग्राम संग्राहलय र देवघाटको बेणी संगममा त्रिकोणात्मक धार्मिक पुल निर्माणकालागि विशेष महत्वका साथ सम्बन्धित निकायमा पहल गरेको अध्यक्ष लौडारीले जानकारी दिए ।

देवघाट क्षेत्र विकास समितिले धार्मिक आस्थाका आधारमा बढि महत्व राख्ने हुनाले धार्मिक क्रियाकलापको प्रमुखताका साथ गुरुयोजनामा समेटेको समितिले जनाएको छ । गुरुयोजनाले देवघाट क्षेत्रलाई भित्री धार्मिक क्षेत्र, सहायक धार्मिक क्षेत्र र बाहिरी क्षेत्र गरि तिन भागमा छुट्याएको छ । भौतिक पुर्वाधार सम्बन्धि योजनाले खासगरि सडक निर्माण, पुल निर्माण, संगम स्थलमा स्नानघाट, दाहासंस्कार स्थल निर्माण कार्य र अन्य पुर्वाधार सम्बन्धि निर्माण कार्यलाई समेटेको समितिले जनाएको छ । तनहुँ, चितवन, नवलपुर जिल्लाका केही भाग मिलाएर ५४३४ हेक्टर क्षेत्रफलमा देवघाटधाम क्षेत्र फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले