तनहुँ । जेठ १३
तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ई.श्रीराम न्यौपानेले मदिरा–दलाली गठबन्धन तोडी देश बचाउन प्रधानमन्त्री बालेन्द्र शाहसँग अपिल गरेका छन् । बुधबार सामाजिक सन्जालमा प्रधानमन्त्री शाहलाई खुल्ला पत्र लेख्दै सांसद न्यौपानेले सो अपिल गरेका हुन् ।



यस्तो छ, सांसद न्यौपानेको प्रधानमन्त्रीलाई खुल्लापत्रः
‘सम्माननीय प्रधानमन्त्रीज्यू,
देशमा भ्रष्टाचार, कमिसनतन्त्र, दलाली र सेटिङ संस्कृतिको जरो कहाँ छ भनेर गम्भीर अध्ययन र अनुसन्धान गर्ने हो भने एउटा कटु यथार्थ सतहमा आउँछ–मदिराजन्य पदार्थ आज भ्रष्ट लेनदेनको सबैभन्दा सहज, सुरक्षित र सामाजिक रूपमा स्वीकार्य माध्यम बनेको छ ।
दिनभर नियम, कानुन, आदर्श र नैतिकताको भाषण गर्नेहरू साँझ परेपछि साना–ठुला होटल, रेस्टुरेन्ट र बन्द कोठा भित्र “मदिरा सत्कार” को आवरणमा नियुक्ति, सरुवा, बढुवा, ठेक्का, कमिसन र भागबन्डाको खेल खेलिरहेका हुन्छन् । आज प्रशासनिक र राजनीतिक वृत्तमा “मदिरा संस्कृति” केवल व्यक्तिगत उपभोगको विषय रहेन; यो राज्य संयन्त्रलाई विकृत बनाउने माध्यममा परिणत भएको छ ।
घुसको रकम सिधै हातमा नदिए पनि “भोज”, “पार्टी”, “सेटिङ डिनर” र “मदिरा भेटघाट” का नाममा हुने अदृश्य लेनदेनले सुशासनलाई खोक्रो बनाइरहेको छ । यही कारणले इमानदार राजनीतिज्ञ र कर्मचारी निरुत्साहित भएका छन्, दलाल र बिचौलियाहरू शक्तिशाली बनेका छन्, र राज्यप्रतिको जनविश्वास कमजोर हुँदै गएको छ ।
त्यसैले अब सरकार केवल राजस्व उठाउने दृष्टिले होइन, सामाजिक सुधार, सार्वजनिक स्वास्थ्य र सुशासनको दृष्टिले पनि कठोर निर्णय लिन तयार हुनुपर्छ । मदिराजन्य र सुर्तीजन्य पदार्थमा शतप्रतिशत भन्दा बढी कर लगाइनुपर्छ । वर्तमान मूल्यको कम्तीमा तीन गुणा महँगो हुनेगरी कर संरचना पुनःनिर्धारण गरिनुपर्छ ।
यसबाट तीनवटा ठूला परिणाम हासिल गर्न सकिन्छ– मदिरा र सुर्तीको अनावश्यक उपभोग घट्नेछ, भ्रष्टाचार र सेटिङ संस्कृतिमा नियन्त्रण आउनेछ र राज्यको राजस्व उल्लेखनीय रूपमा वृद्धि हुनेछ ।
यदि पूर्ण निषेध सम्भव छैन भने अत्यधिक महँगो बनाएर नियन्त्रण गर्नु नै व्यावहारिक उपाय हो । विश्वका धेरै देशहरूले जनस्वास्थ्य र सामाजिक अनुशासनका लागि यही नीति अपनाएका छन् ।
आज सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु र जनतामाथि प्रत्यक्ष असर पार्ने क्षेत्रमा कर बढाउन सक्छ भने देश, समाज र प्रशासनिक संस्कृतिलाई बिगार्ने मदिरा र सुर्तीमाथि किन कठोर नीति लिन सक्दैन ? यदि राज्यलाई साँच्चिकै सुशासन चाहिएको हो भने “मदिरा–दलाली गठबन्धन” तोड्नैपर्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू, देश बचाउने हो भने अब बजेटमा केवल अंकगणित होइन, नैतिक साहस पनि देखिनुपर्छ । राजस्व पनि उठ्ने, समाज पनि सुध्रिने र भ्रष्टाचारमाथि पनि प्रहार हुने नीति यही हो ।
“मदिरा महँगो हुने देशमा सुशासन सस्तो बन्छ ।”
धन्यवाद ।
ई. श्रीराम न्यौपाने
प्रतिनिधिसभा सदस्य
तनहुँ क्षेत्र नम्बर २












