तनहुँ । जेठ १८
विश्व दुध दिवस २०२६ को अवसरमा बन्दीपुर गाउँपालिकाले सोमबार गाउँपालिका भित्रका सामुदायिक तथा बालगृहमा अध्ययनरत बालबालिकाको लागि निशुल्क रुपमा दुध वितरण तथा दूधको पोषण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।



गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको उक्त कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय तथा बालगृहमा दूध वितरण गरिएको साथै दूधको पोषणात्मक महत्व, स्वस्थ जीवनशैली र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यसको भूमिकाबारे जानकारी प्रदान गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए ।

‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धीको आधार’ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले बालबालिकाले नियमित रुपमा दुध सेवन गर्नुपर्ने बताइन् ।












