तनहुँ । जेठ २६
संघीय सरकारको पुर्वाधार विकास मन्त्रालयले तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा मोटरेवल पुल निर्माणकोलागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।



आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विकास कार्यक्रम अन्तर्गत मन्त्रालयले आगामी आर्थिक वर्षबाट निर्माण कार्यमा जाने गरि घुमाउनेको पुलकोलागि १५ करोड रुपैयाँ विनियोजन गरेको हो ।
यसअघि उक्त पुल निर्माणकोलागि मृत संन्जिवी निर्माण सेवासँग २०७० सालमा गरिएको ठेक्का सम्झौता डिभिजन सडक कार्यालय तनहुँले २०८३ बैशाख २९ गते तोडेको थियो । ठेक्का सम्झौता बमोजिम निर्माण कार्यमा कुनै प्रगति नभएपछि डिभिजन सडक कार्यालय तनहुँले ठेक्का सम्झौता तोडेको थियो ।
ठेक्का सम्झौता तोडिएपछि घुमाउनेको पुलको भविष्य अन्यौलमा रहँदा स्थानीय लाभग्राहीहरुमा चिन्ता बढेको थियो । तर सरकारले आगामी आर्थिक वर्षको बजेटमा घुमाउनेको उक्त पुल निर्माणमा बजेट विनियोजन गरेपछि आफुहरु खुसी भएको घुमाउनेको पुल निर्माणमा दवाव दिन स्थानीय स्तरमा गठित संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए । अव नयाँ आर्थिक वर्ष सुरु हुनासाथ ठेक्का प्रक्रिया पुरा गरि समयमै निर्माणको काम सुरु गर्नुपर्ने उनले बताए ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले घुमाउनेको पुल निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको पटक पटक दोहो¥याउँदै आएका थिए । मन्त्री वाग्लेको प्रतिबद्धता बमोजिम नयाँ पुल निर्माणकोलागि बजेट पनि विनियोजन भएको छ ।
हाल पुल निर्माण भएको स्थानमा अर्काे पुल निर्माण गर्न प्राविधिक दृष्टिकोणले नमिल्ने भएपछि सडक विभागले हालको स्थानको भन्दा केही तल पुल निर्माण गर्न सकिने बारेमा सम्भाव्यता अध्ययन गरेको छ । सेतीमादी र त्रिशुली नदीको संगम रहेको सेती दोभान वरपर पुल निर्माण गर्ने सम्भाव्यताबारे विभागका इन्जिनियरहरुले अध्ययन गरेका छन् ।
घुमाउनेको नयाँ पुल निर्माण पश्चात दमौलीबाट चितवन जान हालको मुग्लिन–डुम्रे सडकभन्दा करिब २५ किलोमिटर दूरी छोटो पर्नेछ । पुल नबनेका कारण यस क्षेत्रका ६–७ वटा साना बस तथा जिपहरू घुमाउने घाटमै रोकिन बाध्य छन् । यात्रुहरू झोलुङ्गे पुल प्रयोग गरी मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुग्ने गरेका छन् ।












