देवघाट । जेठ ३०
भुजेल जातिको संस्कृतिको जर्गेना, सम्बद्र्वन र प्रवद्र्वन गर्ने उद्वेश्यका साथ मौलिक चुड्का नाच प्रदर्शनी गरिएको छ । आधुनिकताको तीव्र प्रभाव र पुस्तान्तरणको अभावमा भाषा, संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थाले पछि भुजेल समाज सेवा समिति तनहुँको आयोजनामा शनिबार देवघाट गाउँपालिका–१ बसेनीटारमा मौलिक चुड्का नाच प्रर्दशन गरिएको हो । भुजेल जातीको मौलिक सांस्कृतिक धरोहर संकटमा पर्न थालेपछि यसको संरक्षण र संवद्र्धनका लागि मौलिक चुड्का नाच प्रर्दशनी एवं अन्तरक्रिया कार्यक्रम गरिएको भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलले बताए ।




उक्त कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मौलिक भाषा र संस्कृति मेटिए सिंगो जाति र उसको इतिहास नै संसारबाट नामेट बताए । ‘जुन जातिको आफ्नो मौलिक भाषा, संस्कृति र भेषभूषा रहँदैन, त्यो जातिको अस्तित्व र गौरव नै समाप्त हुन्छ,’ अध्यक्ष थापाले भने, ‘भुजेल समुदायको यो ऐतिहासिक संस्कृति देवघाटको मात्र नभई राष्ट्रकै अमूल्य सम्पत्ति र पहिचान हो । यस्ता कला र संस्कृतिको प्रवद्र्धनका लागि आगामी दिनमा पनि गाउँपालिकाले सहयोग गर्नेछ ।’
उक्त कार्यक्रममा भुजेल समुदायका विभिन्न आठ वटा टोलीले ऐतिहासिक पहिचान बोकेको ‘चुड्का र कौरा नाच’ प्रस्तुत गरेका थिए । आफ्नो मौलिकता रक्षाका लागि आयोजित यस कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने अपुग रकम स्थानीय समुदाय आफैँले चन्दा संकलन गरेर जुटाएका थिए ।

भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलले नयाँ पुस्तामा परम्परागत संस्कृति र पहिचानप्रतिको आत्मसम्मान घट्दै जाँदा मौलिक संस्कार र लोकपरम्परा संरक्षण र पुस्तान्तरणका लागि यो अभियान सुरु गरिएको बताए । लोपोन्मुख संस्कृतिको जगेर्ना समुदायको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा राज्य तथा सम्बन्धित सरोकारवाला निकायबाट थप संरक्षण, प्रोत्साहन र सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष मिलन भुजेल, शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष सचिन भुजेल, भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा घर्ती, भुजेल समाजका केन्द्रीय उपाध्यक्ष विमल जिसी भुजेल, चितवन भुजेल समाजका अध्यक्ष राम भुजेल, समाजका तनहुँ जिल्ला उपाध्यक्ष मनबहादुर भुजेल र सचिव गोपाल घर्तीले लगायतले आफ्नो कला र संस्कृति मर्न नदिन युवा पुस्तालाई सीप र परम्परा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस अभियानमा निरन्तर साथ दिने बताए ।












