बानियाँटारबाट चितुवाको उद्धार

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३०

बन्दीपुर गाउँपालिका–१, बानियाँटारबाट एक वयस्क चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको प्राविधिक टोलीले उक्त चितुवाको उद्धार गरेको हो ।

जङ्गलमा आहाराको कमी भएपछि खानेकुराको खोजीमा चितुवा मानव बस्तीमा पसेको वन कार्यालयका अधिकारीको भनाइ छ । शुक्रबार साँझ बस्तीमा अचानक चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए ।

मानिसलाई आक्रमण गर्न सक्ने जोखिम बढेपछि स्थानीयले कुखुराको खोरभित्र पुगेको चितुवालाई त्यही थुन्न सफल भएका थिए । डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार उद्धार गरिएको चितुवालाई अहिले डिभिजन कार्यालयको दमौलीस्थित उद्धार कक्षमा सुरक्षित राखिएको छ ।

वयस्क चितुवा भएकाले यसलाई पुनः प्राकृतिक वातावरणमै छाडिने प्रमुख रानाभाटले जानकारी दिए । चितुवाको शारीरिक अवस्था र स्वास्थ्य परीक्षण गरी स्वास्थ्य स्थिति सामान्य पाइएपछि जङ्गलमा लगेर छाडिने उनले बताए ।

पछिल्लो समय तनहुँका विभिन्न बस्तीहरूमा आहारा र पानीको खोजीमा वन्यजन्तुहरू वन क्षेत्र छाडेर गाउँ पस्नेक्रम बढेको छ । वन कार्यालयले वन्यजन्तु नियन्त्रणमा आएको अवस्थामा आफैँ जिस्क्याउने वा नियन्त्रणमा लिन खोज्दा जोखिम हुने भन्दै तत्काल सुरक्षा निकाय वा वन टोलीलाई खबर गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू