उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

Devghat Online

शेयर गरौ

देवघाट । असार १३

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलको निरिक्षण गरेका छन् ।

कालिका हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाको निर्माणस्थल साँढेगबरमा शुक्रबार मन्त्री श्रेष्ठले आयोजनाको निरिक्षण गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति, निर्माण व्यवस्थापन तथा समग्र कार्यान्वयन अवस्थाबारे जानकारी लिएका थिए ।

तनहुँ र नवलपुरको सिमा भएर बग्ने कालीगन्डकी नदीको साँढेबगरमा उक्त आयोजनाको निर्माण गरिएको छ । आयोजनाको कुल लागत १० अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । त्यसमध्ये ७५ प्रतिशत अर्थात् ७ अर्ब ६० करोड रुपैयाँ कृषि विकास बैंकको अगुवाइमा ६ वटा बैंक तथा संस्थाले ऋण लगानी गर्नेछन् । बाँकी २५ प्रतिशत प्रवद्र्धकहरूले नै लगानी गर्नेछन् । सम्झौता अनुसार उक्त आयोजनामा नेतृत्वकर्ताको रुपमा कृषि विकास बैंक र सह–नेतृत्वकर्ताका रूपमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सदस्य बैंक तथा संस्थाका रूपमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ऋण लगानी गर्ने छन् ।

आगामी २०८४ सम्म आयोजना निर्माण गरिसक्ने लक्ष्य रहेको छ । देवघाट गाउँपालिका–५ साँढेबगरमा आयोजनाको ड्याम निर्माण गरिने र त्यसको ठीक मुनि विद्युत्गृह हुने कम्पनीले जनाएको छ । कम्पनीले ३००.२२ घनमिटर प्रतिसेकेन्ड पानी प्रयोग गर्ने र १९.७४ मिटर उचाइबाट पानी खसालेर बिजुली उत्पादन गर्ने बताएको छ ।

उक्त जलविद्युत आयोजना नेपालमै पहिलो पटक ‘ड्याम टु टो वे’ रुपमा निर्माण गर्न लागिएको बताईएको छ । आयोजनाको कारण कालीगन्डकीमा १५ किलोमिटर लामो जलाशय बन्नेछ । उक्त जलाशयले देवघाट गाउँपालिका वडा नम्बर १ को धेरै भुभाग डुबानमा पार्नेछ । कम्पनीले २०६४ सालदेखि नै आयोजना निर्माण गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन । पहिलो चरणमा आंशिक जलाशय आयोजनाको रूपमा नेपालमै नयाँ प्रारूपमा अघि बढाउन लागिएको आयोजनालाई भविष्यमा पम्प स्टोरेज आयोजनाको रूपमा समेत विकास गर्ने लक्ष्य रहेको बताइएको छ ।

कालीगण्डकी नदीमा बाँधकै मुनि नदी तटमा विद्युत्गृह बनाई आंशिक जलाशयको नियन्त्रित बहाबमा आधारित भएर यो आयोजनाबाट विद्युत् उत्पादन गरिने छ । यसका लागि मुख्य सुरुङ तथा अन्य कैयौँ संरचनाको आवश्यकता पर्दैन । उक्त आयोजनाबाट वार्षिक २७९.९५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन हुने बिजुलीलाई १३२ केभी प्रसारण लाइनमार्फत ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको आँपटारी सबस्टेसनमा जोडिने छ । आयोजनाको निर्माण कार्य २०८४ भित्रै पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यसैगरि मन्त्री श्रेष्ठले शुक्रबार नै देवघाट गाउँपालिका–५ को गलेश्वर आश्रम परिसरको पहिरो क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरोको वर्तमान अवस्था, सम्भावित जोखिम, भइरहेको काम तथा आवश्यक न्यूनीकरणका उपायबारे सरोकारवालासँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू