देवघाटमा अपाङ्गता भएका व्यक्तिका लागि १० दिने च्याउ खेती तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार २४

अपाङ्गता भएका व्यक्तिहरूलाई दान वा सहायताको भरमा होइन, सीप, श्रम र उद्यममार्फत आत्मनिर्भर बनाउने उद्देश्यसहित तनहुँको देवघाटमा सञ्चालन गरिएको १० दिने च्याउ खेती तालिम सम्पन्न भएको छ ।

सक्षमता विकास समाज नेपालद्वारा आयोजित तालिममा १५ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । तालिममार्फत सहभागीहरूलाई च्याउ खेतीको आधुनिक प्रविधि, बीउ व्यवस्थापन, उत्पादन प्रक्रिया, खेतीको हेरचाह, रोग तथा कीरा नियन्त्रण तथा बजारीकरणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार तालिमको उद्देश्य सहभागीहरूलाई व्यावसायिक रूपमा च्याउ उत्पादन गर्न सक्षम बनाउँदै आयआर्जनको दिगो आधार तयार गर्नु हो । यस्ता सीपमूलक कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसरको पहुँचमा पु¥याई उत्पादनशील, आत्मनिर्भर र सम्मानित नागरिकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले आगामी बजेटमार्फत गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न आवश्यक बजेट व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । उनले अपाङ्गता भएका बालबालिकाले विद्यालयमै सहज रूपमा अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्ने योजना रहेको र आगामी शैक्षिक कार्यक्रममार्फत समावेशी तथा एकीकृत शिक्षालाई थप प्रभावकारी बनाइने बताए ।

विशिष्ट अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर आम्दानीसँग जोड्न सके मात्र तालिमको वास्तविक उपलब्धि हासिल हुने बताए । उनले एक्लै सम्भव नभए समूह बनाएर व्यावसायिक रूपमा च्याउ खेती सञ्चालन गर्न आग्रह गर्दै वडाको तर्फबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता गर्दै देवघाट अपाङ्ग सञ्जालका अध्यक्ष कुमार पाण्डेले तालिमबाट सहभागीहरूले च्याउ खेतीसम्बन्धी आवश्यक ज्ञान र सीप हासिल गरी व्यावसायिक उत्पादन सुरु गर्न सक्ने विश्वास व्यक्त गरे । यसले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र सम्मानपूर्ण जीवनयापनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।

तालिममा प्रशिक्षक भवि थापा र भरत घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रीय सभापति कृष्णबहादुर थापा लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पछिल्ला वर्षहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षामा मात्र सीमित नराखी उत्पादन र उद्यमसँग जोड्ने अभियानलाई सरकारले समेत प्राथमिकतामा राख्दै आएको सन्दर्भमा देवघाटमा सञ्चालन गरिएको यस्तो सीपमूलक तालिमलाई स्थानीय तहमा समावेशी विकासको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ ।

‘सिपले अवसर सिर्जना गर्छ, अवसरले आत्मविश्वास बढाउँछ, र आत्मविश्वासले सम्मानपूर्ण जीवनको ढोका खोल्छ’ पाण्डेले भने ‘अपाङ्गता कमजोरी होइन, अवसरको अभाव नै सबैभन्दा ठूलो चुनौती हो भन्ने सन्देश यस तालिमले प्रवाह गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू