तनहुँ । असार २३
महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले म्याग्दे गाउँपालिकाले वडा नम्बर ५ मा सञ्चालन गरेको तीनदिने सुगन्धित धुपबाट बत्ती बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । म्याग्दे गाउँपालिकाको आर्थिक विकास शाखाको आयोजनामा सम्पन्न उक्त तालिममा वडा नम्बर ५ का ३३ जना महिलाको सक्रिय सहभागिता रहेको थियो ।




स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको उपयोग गर्दै गुणस्तरीय सुगन्धित धुप उत्पादन गर्न सकिने न्यून लगानीमा घरमै बसेर व्यवसाय सञ्चालन गर्न सकिने तथा महिलालाई आयआर्जनसँग जोड्ने उदेश्यले तालिम आयोजना गरिएको गाउँपालिका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जनाकारि दिनुभये । पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिमा धुपको प्रयोग बढ्दै गइरहेको र बजारमा यसको माग निरन्तर विस्तार भइरहेकाले यस क्षेत्रमा उदमको राम्रो सम्भावना रहेको निष्कर्षसहित तालिम सञ्चालन गरिएको हो न्यौपानेले भने ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले सहभागीलाई धुपबाट बत्ती उत्पादन गर्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाउनुभएको थियो । उनले कच्चा पदार्थ छनोट, मिश्रण तयार गर्ने विधि, बत्ती बनाउने प्रक्रिया, सुकाउने तरिका, गुणस्तर परीक्षण, सुरक्षित भण्डारण, आकर्षक प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण तथा बजार व्यवस्थापनका विषयमा विस्तृत जानकारी दिए । प्रशिक्षणका क्रममा सहभागी महिलाले स्वयं धुपका बत्ती तयार गरी व्यावहारिक अभ्यास गरेका थिए । तालिममा सहायक प्रशिक्षक राममाया श्रेष्ठले सहभागीलाई उत्पादन प्रक्रियाको प्रत्येक चरणमा आवश्यक सहजीकरण गर्दै व्यवहारिक अभ्यास गराएका थिए ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाको आर्थिक सशक्तीकरण गाउँपालिकाको प्रमुख प्राथमिकता मध्ये एक रहेको बताए । महिलालाई सीप, प्रविधि र उद्मसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको उल्लेख गर्दै उनले सिकेको सीपलाई व्यवहारमा उतारेर उत्पादन तथा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले भने ‘तालिम केवल प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम होइन । यसबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकियो भने परिवारको आय वृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ र स्थानीय अर्थतन्त्र पनि बलियो बन्छ । गाउँपालिकाले उद्यमशील महिलालाई आवश्यक सहजीकरण, प्राविधिक सहयोग तथा सम्भव भएसम्म बजार व्यवस्थापनमा समेत साथ दिनेछ ।’
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले महिलामा रहेको क्षमता, सिर्जनशीलता र परिश्रमलाई उत्पादनसँग जोड्न सके गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले महिलाले उत्पादन गरेका वस्तुलाई प्रतिस्पर्धी बनाउन गुणस्तर, प्याकेजिङ र बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘आजको बजारमा उत्पादन मात्र भएर पुग्दैन । उत्पादन राम्रो, प्याकेजिङ आकर्षक र ग्राहकको विश्वास जित्ने गुणस्तर कायम गर्न सकियो भने स्थानीय उत्पादनले राष्ट्रिय बजारसम्म स्थान बनाउन सक्छ’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँपालिकाले सञ्चालन गर्ने तालिमको वास्तविक उपलब्धि सहभागीले व्यवसाय सञ्चालन गरेपछि मात्र देखिने बताए । उनले तालिमपछि महिलाले समूह निर्माण गरी सामूहिक उद्यम सञ्चालन गर्न सके उत्पादन लागत घट्ने, बजार विस्तार गर्न सजिलो हुने तथा दीर्घकालीन रूपमा व्यवसाय सफल बन्ने धारणा व्यक्त गरे । उनले स्थानीय उत्पादनलाई गाउँपालिकाको पहिचानसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै प्रशासनिक तथा संस्थागत रूपमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमबारे जानकारी दिँदै आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले गाउँपालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमहरू स्थानीय आवश्यकता र महिलाको मागका आधारमा छनोट गर्ने गरिएको बताए । उनका अनुसार वडा नम्बर ५ मा महिलाले धुप उत्पादनसम्बन्धी तालिमको माग गरेपछि सोहीअनुसार कार्यक्रम सञ्चालन गरिएको हो । न्यौपानेले भने ‘हामी केवल तालिम सञ्चालन गरेर सीमित रहने पक्षमा छैनौँ, तालिमपछि सहभागीलाई उद्यमसँग जोड्ने, आवश्यक परामर्श उपलब्ध गराउने, समूह निर्माणमा सहजीकरण गर्ने तथा बजारसँग जोड्ने प्रयास पनि गाउँपालिकाले गरिरहेको छ । महिलाले सिकेको सीपलाई आयआर्जनमा रूपान्तरण गर्न सकून् भन्ने हाम्रो मुख्य उदेश्य हो ।’
कार्यक्रमका सभापति तथा वडा नम्बर ५ का वडा अध्यक्ष शिवबहादुर आलेले वडा नम्बर ५ लाई सुगन्धित धुप उत्पादनको‘पकेट क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले वडामा उत्पादन हुने धुपलाई स्थानीय ब्रान्डका रूपमा स्थापित गरी बजारसम्म पु¥याउने योजनामा गाउँपालिका र सम्बन्धित निकायसँग समन्वय गरिने बताए । ‘हामी वडामा उत्पादन हुने धुपलाई केवल स्थानीय प्रयोगमा सीमित राख्न चाहँदैनौँ, यसलाई व्यावसायिक रूपमा उत्पादन गरी बजारसम्म पु¥याउने, महिलाको आम्दानी बढाउने र वडा नम्बर ५ लाई धुप उत्पादनको पहिचान बनाउने हाम्रो लक्ष्य हो’ उनले भने । उनले महिलाहरूले सामूहिक रूपमा उत्पादन समूह गठन गरी निरन्तर उत्पादन गर्न सके यसले धेरै परिवारको आर्थिक अवस्था सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी महिला शारदा उपरकेटिले कार्यक्रमबाट नयाँ सीप सिक्ने अवसर प्राप्त भएको घरायसी कामसँगै अतिरिक्त समयको सदुपयोग गरी धुप उत्पादन व्यवसाय सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरेकी छन् । धेरै सहभागीले सामूहिक रूपमा उत्पादन सुरु गरी गाउँपालिकाको सहयोगमा बजार विस्तार गर्ने योजना रहेको उनले बताइन् ।












