देवघाट । असार २४
वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका विशिष्ट गुरु डा. स्वामी रामानन्द गिरिको ७१ वर्षको उमेरमा निधन भएको थियो ।



आफ्नो मुख्य कर्मथलो तनहुँको देवघाटधाममा भक्तहरूलाई आध्यात्मिक प्रवचन दिइरहेकै अवस्थामा अचानक दम र निमोनियाको प्रकोपका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा १० दिनसम्म सघन उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि उनले धार्मिक स्थलमै प्राण त्याग्ने इच्छा व्यक्त गरे अनुरुप वि.सं. २०७४ आषाढ २४ गते शनिबार बेलुका अस्पतालबाट डिस्चार्ज गरी पशुपतिनाथ स्थित महेश संन्यास आश्रम (शङ्कराचार्य मठ) ल्याइएको थियो । मठमा ल्याइएको ठीक दुई घन्टापछि (बेलुका करिब ७ बजे) उनले देह विसर्जन गरेका थिए ।
उनलाई सनातन परम्परा अनुसार उनकै आध्यात्मिक कर्मथलो तनहुँको देवघाटधाममा लगेर जलसमाधि दिइएको थियो । महासमाधिमा लीन भएको समय आषाढ शुक्ल पूर्णिमा अर्थात् व्यास पूर्णिमा (गुरुपूर्णिमा) को पावन तिथि थियो । आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको निधन गुरुपूर्णिमाकै दिन हुनुलाई आध्यात्मिक वृत्तमा एक अद्भूत र दुर्लभ संयोग मानिन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट शाङ्करवेदान्तमा आचार्य र २०४१ सालमा ‘राजर्षि जनकका विदेह सिद्धान्त’ विषयमा विद्यावारिधि गरेका डा.स्वामी रामानन्द गिरिको जन्म वि.सं.२००३ जेठ १० गते केवलपुर, धादिङमा भएको थियो । उनको वास्तविक नाम रामप्रसाद सुवेदी थियो ।
डा.स्वामी रामानन्द गिरिले वि.सं.२०३० मा शाङ्करवेदान्त विषयमा सर्वोत्कृष्ट अङ्क ल्याई आचार्य उत्तीर्ण गरी वि.सं.२०४१ मा त्रिभुवन विश्वविद्यालयबाट ‘जनक दर्शन’ मा विद्यावारिधि (पिएचडी) गरेका थिए भने वि.सं. २०४५ मा अनन्त विभूषित महामण्डलेश्वर स्वामी महेशानन्द गिरिजी महाराजबाट संन्यासतर्फ दीक्षा लिएका थिए । संन्यास धर्म र संस्कृत शिक्षाको प्रवद्र्धनका लागि वि.सं.२०५० मा तनहुँको देवघाटधाममा स्थापित महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलका संस्थापक गिरि डा. वि सं २०५६ सालदेखि पशुपतिस्थित शङ्कराचार्य मठको संरक्षकको रूपमा कार्यरत थिए । उनका प्रमुख कृतिहरु जनकदर्शन, माण्डूक्यकारिका, वेदस्तुति, र रामगीता (नेपाली अनुवाद तथा व्याख्या) आदि छन् ।












