मादी नदीमाथिको नयाँ चार लेन पुलको निर्माण ८६ प्रतिशत सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार २४

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको नयाँ पुलको भौतिक प्रगति ८६ प्रतिशत र वित्तीय प्रगति ८४ प्रतिशत पुगेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत निर्माण भइरहेको पुल चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण नसकिएकाले थप ३०० दिन म्याद थपको प्रस्ताव गरिएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलको अधिकांश संरचनागत काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पु¥याउने तयारी भइरहेको छ । केही दिनअघिसम्म दैनिक १००–१२० जना कामदार निर्माणस्थलमा खटिए पनि हाल घरायसी कारणले केही कामदार बाहिरिएकाले कार्यरत जनशक्तिमा केही कमी आएको उनले बताए ।

default

नयाँ पुलमा छ वटा स्पान रहनेछन् । पुल निर्माणका लागि सन् २०२२ अगस्ट ११ मा एएनके–जेडआईईसी सँग एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । प्रारम्भिक चरणमा डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माण कार्य करिब छ महिना प्रभावित भएको थियो ।

हाल सञ्चालनमा रहेको पुरानो दुई लेनको पुल ३७० मिटर लामो छ । त्यसबाट करिब ५० मिटर दूरीमा आधुनिक आर्क डिजाइनमा आधारित नयाँ चार लेनको पुल निर्माण भइरहेको हो । आधुनिक संरचना र आकर्षक डिजाइनका कारण यो पुल पृथ्वीराजमार्गकै सबैभन्दा आकर्षक र आधुनिक पुलमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार परियोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा स्तरोन्नति भइरहेको छ । परियोजनाअन्तर्गत पूर्वी खण्डको निर्माण कार्य ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्डको निर्माण कार्य ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँको लागतमा अघि बढिरहेको छ ।

थप तश्विरहरुः

तश्विरः नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू