तनहुँ । साउन १२
आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक, प्रविधिमैत्री र राष्ट्रिय स्तरको प्राज्ञिक अनुसन्धान केन्द्रको रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष कुलबहादुर थापाको अध्यक्षतामा क्याम्पसमा मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न निर्णयहरू गर्दै वार्षिक कार्ययोजना स्वीकृत गरेको छ ।



बैठकले पुस्तकालयलाई अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नती गर्न यसै आर्थिक वर्षदेखि विभिन्न नवीन सेवाहरू प्रारम्भ गरिने भएको छ । कार्ययोजना अनुसार अब विद्यार्थी र प्राध्यापकहरूले क्याम्पस बाहिरबाट पनि जुनसुकै समयमा प्रिमियम ईजर्नल र शोधपत्रहरू पढ्न सक्ने गरी रिमोट डिजिटल एक्सेसको व्यवस्था मिलाइने भएको छ । पुस्तकहरूको स्वचालित ¥याकिङ र चोरी नियन्त्रणका लागि आरएफआईडी र स्मार्ट कार्ड प्रणाली लागू गरिनेछ । यसैगरी, भर्चुअल वेबिनार र डिजिटल सूचना प्रवाहका लागि अत्याधुनिक इन्टरएक्टिभ स्मार्ट बोर्ड र प्रिमियम साउन्ड सिस्टम सहितको सञ्चार तथा सूचना प्रवाह सेक्सन स्थापना गरिने भएको छ ।
त्यस्तै क्षेत्रीय स्थानिय इतिहास, भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पुस्तकालयमा छुट्टै विशिष्ट तनहुँ खण्ड स्थापना गरिने भएको छ । यस खण्डमा तनहुँ र आसपासका क्षेत्रको इतिहास, साहित्य, रैथाने ज्ञानको अभिलेख, नक्सा तथा दुर्लभ ऐतिहासिक दस्तावेजहरूको सङ्कलन र अभिलेखीकरण गरिनेछ । यसका साथै, स्थानीय रैथाने ज्ञानको अभिलेखन र संरक्षणका लागि पुस्तकालय शाखा, क्याम्पस प्रशासन र आदिवासी जनजाति महासंघको संयुक्त पहलमा आदिवासी जनजाति जातीको अध्ययन केन्द्र स्थापना गर्ने ऐतिहासिक निर्णय समेत बैठकले गरेको छ ।
पाठकहरूको सुविधाका लागि पुस्तकालयको भौतिक संरचनामा व्यापक सुधार गरिने भएको छ । पठन कक्षलाई खुला र फराकिलो बनाइनेछ भने भुइँमा टायल लगाउने र पठन हललाई आकर्षक बनाइनेछ । मुख्य अध्ययन कक्षहरूमा उच्च क्षमताको एसी जडान र सोफा सेट तथा आरामदायी आधुनिक कुर्सीहरूको व्यवस्थापन गरिनेछ । लामो समय अध्ययन गर्ने पाठकका लागि तातो चिसो पानी र चिया कफी पिउने व्यवस्था सहितको कैफेटेरिया जोन निर्माण गरिने कार्ययोजनामा उल्लेख छ । मुख्य हलको शान्त वातावरणलाई असर नपुग्ने गरी ग्रुप प्रोजेक्टका लागि छुट्टैु सामूहिक छलफल कक्ष र फरक क्षमता भएका विद्यार्थीका लागि अपाङ्गतामैत्री सेवासमेत सुरु गरिनेछ ।
पुस्तकालय सल्लाहकार समितिले सदा झै आगामी राष्ट्रिय पुस्तकालय दिवस २०८३ लाई स्थानीय एकदेव आले पुस्तकालय लगायतका जिल्लाका सामुदायिक पुस्तकालय र क्याम्पसहरूसँगको सहकार्यमा भव्यताका साथ मनाउने निर्णय गरेको छ । उक्त दिवसको अवसरमा शिक्षा, साहित्य र अनुसन्धान क्षेत्रका विशिष्ट व्यक्तित्वलाई १५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र सहित उत्कृष्ट स्रष्टा सम्मान प्रदान गरिनेछ । साथै, पुस्तकालय सेवा धेरै प्रयोग गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई पाठक सम्मान प्रदान गरिने निर्णय बैठकले गरेको छ । सोही अवसरमा आदिवासी ज्ञानको अभिलेखन र संरक्षणका विषयमा विशेष प्राज्ञिक बहस समेत सञ्चालन गरिनेछ ।
योजना कार्यान्वयन, भौतिक निर्माण, प्रविधि खरिद तथा पुस्तक खरिदका लागि आवश्यक बजेट क्याम्पसको आन्तरिक पूँजीगत कोष र अनुदान सहायताबाट व्यहोर्ने गरी वजेटको व्यावस्था गर्ने, पूर्वाधार निर्माणको गुणस्तर नियन्त्रण क्याम्पसको निर्माण समितिको प्रत्यक्ष रेखदेखमा हुने, कार्ययोजनाको प्रगतिको समीक्षा प्रत्येक ३ महिनामा पुस्तकालय सल्लाहकार समितिले गर्ने, पुस्तक संकलन बढाउन विभिन्न प्रकाशकहरूसँग पुस्तक सहयोगको माग गर्ने र समितिको आगामी बैठक साउन २९ गते शुक्रबार दिनको ४ बजे क्याम्पसमा बस्ने लगायतका विषयमा बैठकमा निर्णय भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।












