तनहुँ । साउन २६
व्यास नगरपालिका–३ अनसन चौतारीमा सोमबारदेखि अनसन बसेका माधव अधिकारीले अनसन तोडेका छन् । उनलाई सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जुस खुवाएर अनसन तोडाएका थिए ।



सहायक प्रजिअ रेग्मी तथा सुरक्षा निकायका प्रमुखहरुले अनसन स्थलमा आएर जिल्लामा खाना पकाउने ग्यासको सहज आपुर्ती गराउने प्रतिबद्धता जनाएका थिए । साथै ग्यासको कालाबजारी रोक्न पनि पहल गर्ने सहायक प्रजिअ रेग्मीले प्रतिबद्धता जनाएपछि अधिकारीले अनसन तोडेका थिए ।

अनसनरत अधिकारीलाई मंगलबार बिहान दुव्र्यवहार गरेका व्यास–३ का सुभाष गिरीलाई कानुन वमोजिम कारवाही गरिने सहायक प्रजिअ रेग्मीले प्रतिबद्धता जनाएका थिए । आफ्ना सबै मागमा प्रशासनले प्रतिबद्धता जनाएपछि अनसन तोडेको अधिकारीले बताए । उनले आफ्नो माग व्यक्तिगत नभई जिल्लाका सबै उपभोक्ताको हितमा भएको भन्दै अनसनमा साथ, समर्थन र ऐक्यबद्धता जनाउने सम्पुर्ण जिल्लाबासीमा आभार व्यक्त गरेका छन् ।
यसैविच व्यास नगरपालिका वडा नम्बर ३ स्थित अनसन चोकमा सोमबारदेखि अनसनमा बसेका अधिकारीको मागप्रति तनहुँका विभिन्न संघ सस्थाले ऐक्यबद्धता जनाएका थिए । अधिकारीको माग प्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संघ–संस्थाहरूले मंगलबार नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । अधिकारीको माग प्रति ऐक्यबद्धता जनाउँदै ति संस्थाहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण–पत्र पठाएका थिए ।

ध्यानाकर्षण–पत्रमा देशमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको असहज अवस्थाको तत्काल अन्त्य गरी सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरिएको थियो । त्यस्तै अनसनमा बसेका अधिकारीको माग अविलम्ब सम्बोधन गर्दै उनको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग अपिल गरिएको थियो ।

उक्त ध्यानाकर्षण–पत्रमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी, निवर्तमान अध्यक्ष उज्वल पौडेल, गैरसरकारी संस्था महासंघकी अध्यक्ष सरला श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका महासचिव शुरेश पुरी, एकदेव आले स्मृति प्रतिष्ठानकी उपाध्यक्ष सृजना सिग्देल, मानव अधिकार एलायन्स तनहुँका अध्यक्ष कविराज श्रेष्ठ तथा उपभोक्ता हित संरक्षण मञ्च तनहुँका सचिव पूर्ण विक लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका थिए ।












