गोमा न्यौपाने । देवघाट, साउन २८
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले विहिबार देवघाट गाउँपालिका–५ मा रहेको भर्जनकालिका देवी मन्दिरको दर्शन तथा पूजा–आजा गरेकी छिन् । विहिबार बिहान मन्दिर परिसर पुगेकी मन्त्री रिमालले मन्दिरमा पूजा–अर्चना गर्दै मन्दिर निर्माणका लागि प्रदेश सरकार तथा व्यक्तिगत तर्फबाट आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।




मन्दिरको दर्शनपश्चात बोल्दै मन्त्री रिमालले देवघाटधाममा आउने सम्पूर्ण भक्तजन तथा पर्यटकहरूलाई भर्जनकालिकादेवी मन्दिरको दर्शन गर्न नछुटाउन आग्रह गरिन् । उनले यस्ता धार्मिक तथा ऐतिहासिक मन्दिरहरूको दर्शन र प्रचार–प्रसारले स्थानीय बासिन्दाको जीवनस्तर उकास्नुका साथै समग्र क्षेत्रको विकासमा ठूलो मद्दत पुग्ने बताइन् । साथै, यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ थियो ।

हाम्रा मौलिक सांस्कृतिक तथा धार्मिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु राज्यका साथै सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै मन्त्री रिमालले यस्ता सम्पदाको प्रवद्र्धनमा प्रदेश सरकार सधैँ तत्पर रहने बताइन् ।
सो अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले मन्त्री रिमाललाई स्वागत गर्दै मन्दिरको बारेमा जानकारी गराएका थिए । न्यौपानेले आर्थिक अभावमा डिपिआर अनुसारको काम गर्न नसकिएको भन्दै बजेट उपलबध गराउन मन्त्री रिमाल समक्ष अनुरोध गरेका थिए ।

उक्त अवसरमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा भक्तजनहरूको उपस्थिति रहेको थियो । मन्त्री रिमालले देवघाटमा गलेश्वर आश्रम तथा देवघाट क्षेत्र विकास समितिको कार्यालयको पनि अवलोकन गरिन् ।












