तनहुँ । साउन ३०
व्यास नगरपालिका र बन्दीपुर गाउँपालिका जोड्ने महत्वपूर्ण सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट प्राप्त १५ करोड रुपैयाँ बजेट कार्यान्वयनबारे दुवै स्थानीय तहबिच सहमति बनेको छ ।



व्यास नगरपालिकामा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको उपस्थितिमा बसेको बैठकले बजेट बाँडफाँड तथा कार्यान्वयनसम्बन्धी निर्णय गरेको हो । चालु आर्थिक वर्ष २०८३/०८४ मा कार्यान्वयन हुने गरी व्यास नगरपालिका वडा नं. १४ र बन्दीपुर गाउँपालिका वडा नं. ३ र ६ अन्तर्गत पर्ने दमौली–केशवटार–सुखौरा–ढाडखोला–खहरे–बुद्धसिंह सडक स्तरोन्नति योजनाका लागि सङ्घीय सरकारबाट कुल १५ करोड रुपैयाँ १५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
व्यास र बन्दीपुर विच भएको बैठकको निर्णय अनुसार प्राप्त कुल १५ करोड बजेटमध्ये दमौली–केशवटार–सुखौरा खण्डको कार्य सम्पन्न गर्न १३ करोड रुपैयाँ छुट्याइएको छ । त्यस्तै बाँकी रहेको २ करोड रुपैयाँबाट बन्दीपुर गाउँपालिका अन्तर्गत पर्ने ढाडखोला–खहरे–बुद्धसिंह सडक स्तरोन्नतिका लागि लागत अनुमान तयार गरी खर्च गरिने भएको छ ।
उक्त बैठकमा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, व्यास वडा नम्बर १४ का अध्यक्ष काजिमान श्रेष्ठ, बन्दीपुर वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भटराई, बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापा, व्यास नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भेषराज तिवारी लगायत जनप्रतिनिधि एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो । उक्त सडक स्तरोन्नति भएपछि बन्दीपुरका बासिन्दालाई आवत जावतमा ठूलो राहत पुग्नेछ । साथै सेती नदीका प्राकृतिक स्रोत–साधनहरूलाई पालिकाभित्रकै विकास निर्माणका कार्यहरूमा उपयोग र जोड्न यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।












