सीता सामुदायिक वनको सफलताको कथाः तीन वर्षअघि ऋणमा डुबेको सामान्य वन, आज जिल्लाकै उत्कृष्ट

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ १

कुनै समय ऋण र सामान्य गतिविधिमा सीमित तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन उपभोक्ता समूह आज जिल्लाकै उत्कृष्ट सामुदायिक वन घोषित भएको छ । अध्यक्ष भानुभक्त न्यौपानेको नेतृत्व, स्पष्ट कार्ययोजना र उपभोक्ताको सक्रिय सहभागिताका कारण आर्थिक वर्ष २०८२/०८३ मा तनहुँ जिल्लाका ६२५ सामुदायिक वनहरूमध्ये वन व्यवस्थापन तथा समूह व्यवस्थापनतर्फ सीता सामुदायिक वनले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

न्यौपानेले नेतृत्व सम्हाल्दा वन आर्थिक दायित्व (ऋण) मा थियो । उनले व्यवस्थापन सुधारका साथै व्यक्तिगत रूपमा समेत लगानी गरी विगतको ऋण चुक्ता गरेर वनलाई ऋणमुक्त बनाए । समस्या देखेर पछि हट्नुको साटो न्यौपानेले वनको व्यवस्थापन सुधारसँगै व्यक्तिगत रूपमा समेत लगानी गर्दै विगतको ऋण चुक्ता गर्ने अभियान अघि बढाएका थिए । निरन्तरको प्रयासपछि अहिले वन ऋणमुक्त भएको अध्यक्ष न्यौपाने बताउँछन् ।

वनलाई आर्थिक रूपमा सबल बनाउने मात्र होइन, संरक्षण र उपभोक्ताको हितलाई पनि प्राथमिकतामा राखियो । पिकनिक पार्क निर्माण, प्राङ्गारिक तथा जैविक मल उत्पादन, फलफूलका बिरुवा रोपण र वातावरण संरक्षणजस्ता विभिन्न आयआर्जन तथा समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गरिए ।

सोही वडाको मधुबन सामुदायिक वनलाई राष्ट्रियस्तरको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ दिलाउन सफल अध्यक्ष डिल्लीराम गिरीको अनुभव र सल्लाहले सीता सामुदायिक वनलाई सही दिशामा अघि बढाउन ठूलो सहयोग पु¥याएको अध्यक्ष भानुभक्त न्यौपानेको भनाई छ । डिल्लीराम नेतृत्वको मधुवनले सामुदायिक वन व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै देशभरका २३ हजारभन्दा बढी सामुदायिक वनमध्ये दोस्रो स्थान हासिल गर्दै राष्ट्रियस्तरको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको थियो ।

सफलताको श्रेय कार्यसमिति र सम्पूर्ण उपभोक्तालाई दिँदै अध्यक्ष न्यौपानेले इमानदार नेतृत्व र सामुदायिक सहभागिता नै परिवर्तनको मुख्य कारक भएको बताए । अथक मेहनत, दृढ इच्छाशक्ति र सही नेतृत्व भएमा कमजोर अवस्थाबाट पनि उत्कृष्ट परिणाम निकाल्न सकिन्छ भन्ने उदाहरण सीता सामुदायिक वनले प्रस्तुत गरेको छ ।

‘कहिलेकाहीँ राति घर पुगेपछि पनि एउटै कुरा सोच्थेँ–यो वनलाई कसरी सफल बनाउने ? आर्थिक अवस्था कसरी सुधार्ने ? उपभोक्ताको विश्वास कसरी जित्ने ?’ अध्यक्ष न्यौपाने सम्झन्छन् । उनका अनुसार वनलाई जिल्लाकै उत्कृष्ट बनाउने यात्रा सहज थिएन । घाम, पानी, भोक र प्यास नभनी निरन्तर खटिनुप¥यो । कतिपय दिन परिवारलाई भन्दा वनलाई बढी समय दिनुप¥यो । तर वनलाई नमुना बनाउने सपना थकानभन्दा ठूलो थियो ।

‘आज हाम्रो वन जिल्लाकै प्रथम भयो भन्ने सुन्दा खुसीसँगै आँखामा आँसु आउँछ । यो कुनै पद वा पुरस्कारका लागि गरिएको काम थिएन । वनलाई राम्रो बनाउने सपना थियो । आज त्यो सपना उपभोक्ताको आँखामा देख्न पाउँदा मैले गरेको सबै दुःख बिर्सिएँ’ न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू