तनहुँ । भदौ १६
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थालाई मध्यनजर गर्दै आदिकवि भानुभक्त क्याम्पस, दमौलीले आफ्नो ४० औँ वार्षिकोत्सव तथा क्याम्पस सभा स्थगित गरेको छ । क्याम्पस सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाललाई क्याम्पसको ४० औँ वार्षिकोत्सव तथा क्याम्पस सभा स्थगित गर्ने निर्णय गरेको हो । सन्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।



उक्त बैठकमा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, क्याम्पस संञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । उक्त बैठकले आगामी भदौ १८ गते आयोजना गर्ने तय भएको ४०औँ क्याम्पस वार्षिकोत्सव तथा क्याम्पस सभा अर्को मिति नतोकिएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । बैठकले क्याम्पस स्थापना दिवसको भदौ १८ गते क्याम्पसमा बिदा दिने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । बाढीमा परी ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा संलग्न स्वदेशी तथा विदेशी सरकारी तथा गैरसरकारी निकाय, समुदाय र व्यक्तिहरूप्रति बैठकले आभार व्यक्त गरेको छ ।
यसैगरी, क्याम्पसअन्तर्गत सञ्चालित आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ११ शिक्षा समूहमा अध्ययनरत छात्र सुलभ वैद्यको सडक दुर्घटनामा भएको असामयिक निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ । भदौ १५ गते भएको सडक दुर्घटनामा वैद्यको निधन भएको थियो ।
बैठकले क्याम्पसको आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनसमेत छलफल गरी पारित गरेको छ । आन्तरिक लेखापरीक्षण समितिका संयोजक ऋषिराम ढुंगानाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्न क्याम्पस प्रशासनलाई निर्देशन दिने निर्णय गरिएको छ । क्याम्पसको आर्थिक दिगोपना, बजेट व्यवस्थापन, कर तथा कानुनी परिपालना, आन्तरिक लेखापरीक्षण, वित्तीय अनुशासन, विद्युतीय आर्थिक अभिलेख व्यवस्थापन तथा लेखासम्बन्धी नीति निर्माण र कार्यान्वयनका लागि आर्थिक परामर्शदाता नियुक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ। त्यसका लागि क्याम्पस प्रशासनले राष्ट्रिय दैनिक पत्रिकामा ७ दिने सिलबन्दी दरभाउपत्र तथा प्रस्ताव आह्वानको सूचना प्रकाशित गर्ने निर्णय अनुमोदन गर्दै प्राप्त प्रस्तावमध्ये उपयुक्त फर्म वा कम्पनी छनोट गरी आर्थिक परामर्शदाता नियुक्त गर्न आर्थिक समितिलाई अख्तियारी दिइएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए ।
त्यस्तै, बैठकले क्याम्पसको खरिद समिति पुनर्गठन गरेको छ । पुनर्गठित समितिको संयोजकमा अर्जुन सुनार तथा सदस्यहरुमा–निर्मल पण्डित, सोमराज सिग्देल, क्याम्पस प्रमुख र लेखा शाखा प्रमुख रहने व्यवस्था गरिएको छ । क्याम्पसका जिन्सी सामानको भौतिक प्रमाणीकरण, जिन्सी खाता तथा वास्तविक मौज्दातको मिलान, सामानको दाखिला प्रमाणीकरण, घटबढ तथा टुटफुटको पहिचान र कानुनबमोजिम लिलामी वा मिनाहाका लागि सिफारिस गर्न जिन्सी मिलान समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
जिन्सी मिलान समितिको संयोजकमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष र सदस्यमा सञ्चालक समितिका उपाध्यक्ष, क्याम्पस प्रमुख, आर्थिक समिति संयोजक र जिन्सी शाखा प्रमुख सदस्य रहनेछन् । आवश्यकता अनुसार समितिको बैठकले आमन्त्रित सदस्य थप गर्न सक्ने व्यवस्था गरिएको छ । क्याम्पस सञ्चालक समितिले विपद्को संवेदनशील अवस्था, संस्थागत आर्थिक अनुशासन र सम्पत्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ ।












