देवघाट । असोज २०
चाडपर्वका बेला बढ्ने भीडभाड र आर्थिक कारोबारको मौका छोपेर हुन सक्ने चोरी, डकैती तथा ठगीका घटना न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय देवघाटले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।



देवघाट गाउँपालिका–५ स्थित नेपाल मगर उत्थान संघको भवनमा कालिका आमा समूहका महिलाहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चाडपर्वका बेला अपनाउनुपर्ने विभिन्न सुरक्षा सावधानीहरूबारे विस्तृत जानकारी गराइएको थियो ।
विशेषगरी महिलाहरूले लगाउने बहुमूल्य गरगहना, नगद तथा महत्त्वपूर्ण सामानको सुरक्षित व्यवस्थापन, आर्थिक कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरू, अपरिचित व्यक्तिको गतिविधि पहिचान र शंकास्पद अवस्था देखिएमा प्रहरीलाई तत्काल खबर गर्ने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज विष्णु पौडेलले चाडपर्वमा बजार तथा सार्वजनिक स्थानहरूमा मानिसको आवतजावत र भीडभाड बढ्ने भएकाले गरगहना तथा नगद रकम बोकेर हिँड्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।
‘चाडपर्व खुशी र उत्सवको समय हो, तर असावधानीका कारण यही समयमा चोरी, ठगी तथा अन्य आपराधिक घटना हुन सक्छन्’ इन्चार्ज पौडेलले भने ‘त्यसैले आफ्नो धनसम्पत्ति र सुरक्षाप्रति हरेक नागरिक आफैं पनि सचेत हुन आवश्यक छ ।’
साथै उनले घरबाहिर निस्कँदा अनावश्यक गरगहना नलगाउन, ठूलो रकम बोकेर एक्लै यात्रा नगर्न, अपरिचित व्यक्तिहरूसँग आर्थिक कारोबार नगर्न र कुनै शंकास्पद गतिविधि देखेमा ढिलाइ नगरी तुरुन्त प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अपिल गरे ।












