पुनर्निर्माणमा संरचना मात्र होइन, भविष्य पनि सुरक्षित हुनुपर्छः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ३

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले विपद्पछिको पुनर्निर्माण केवल भत्किएका भौतिक संरचना उठाउने काम मात्र नभई भविष्यको जोखिम घटाउने र सुरक्षित समाज निर्माण गर्ने अभियान हुनुपर्ने बताएका छन् ।
हाल चीन भ्रमणको क्रममा चिनको सिचुआन प्रान्तको राजधानी छेङ्दुमा रहेका सांसद न्यौपानेले सन् २००८ को विनाशकारी ‘वेनछुआन भूकम्प’ प्रभावित क्षेत्रको पुनर्निर्माण अवलोकनपछि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ८.० म्याग्निच्युडको उक्त भूकम्पमा करिब ६९ हजार मानिसले ज्यान गुमाएपनि चीनले एकीकृत नेतृत्व, आधुनिक प्रविधि र समयबद्ध कार्ययोजनाका कारण तीन वर्षभित्रै पुनर्निर्माण सम्पन्न गरी त्यसलाई आर्थिक रूपान्तरणको अवसरमा बदलेको सांसद न्यौपानेले उल्लेख गरेका छन् ।

सन् २०१५ को गोरखा भूकम्पका बेला आफू स्वयं मेलम्ची खानेपानी आयोजनाको कामका सिलसिलामा तातोपानीस्थित खासा नाकामा सपरिवार चार दिनसम्म सम्पर्कविहीन भई फसेको कहालीलाग्दो अनुभव उनले स्मरण गरेका छन् । साथै, गत भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि १६ दिनसम्म सुरुङभित्र फसेका नागरिकको उद्धारमा खटिँदा विपद् र पुनर्निर्माणको महत्वलाई नजिकबाट अनुभूति गरेको सांसद न्यौपानेले बताएका छन् ।

नेपालले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा प्रगति गरे पनि अब संरचनाको संख्यामा मात्र नभई तिनको गुणस्तर, दिगोपन र भविष्यका विपद् थेग्न सक्ने क्षमतामा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको सांसद न्यौपानेको भनाइ छ । चीनको पुनर्निर्माण मोडेल हुबहु लागू गर्न नसकिएपनि नेपालले त्यहाँबाट ६ वटा मुख्य पाठ सिक्नुपर्ने उहाँले औँल्याउनुभएको छ ।

ति मुख्य पाठहरुमा सबै निकायबीच प्रभावकारी समन्वय र उत्तरदायित्व, योजना तर्जुमादेखि सम्पन्न गर्ने चरणसम्म समयको कडा पालना, जोखिम मूल्याङ्कनमा आधारित सुरक्षित तथा आधुनिक निर्माण, लागत र समयसँगै संरचनाको टिकाउपन र सुरक्षालाई प्राथमिकता, पुनर्निर्माणलाई रोजगारी, सीप र आर्थिक आत्मनिर्भरतासँग जोड्ने नीति, तथा खर्च भएको बजेटको अंक मात्र नभई त्यसबाट प्राप्त वास्तविक प्रतिफलको मापन रहेको सांसद न्यौपानेको भनाई छ ।

भत्किएका संरचना र गुमेको सम्पत्ति पुनः आर्जन गर्न सकिएपनि गुमेको मानव जीवन कहिल्यै फर्काउन नसकिने उल्लेख गर्दै उनले ‘सुरक्षित निर्माण–दिगो विकास–विपद् प्रतिरोधी नेपाल’ को लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू