२६ साउन, दमौली
हालै गरिएको पिसिआर परिक्षणमा वडा नम्बर १ का एक सर्वसाधरणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका र सम्पुर्ण वडा कार्यालयहरु एक साताकोलागि बन्द गरिएको छ ।
नगरपालिकाले सोमबार सुचना प्रकाशन गरि सर्वसाधरणलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पुर्ण वडा कार्यालयहरुको सेवा साउन २७ देखी भदौ २ गतेसम्म एक साताकोलागि बन्द गर्ने जनाएको छ ।
नगरपालिकाको केही क्षेत्रमा प्रतिनिधि मुलक रुपमा गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भिडभाड बढेकोले कार्यालयबाट नै कोरोना संक्रमण सर्वसाधरणमा फैलन सक्ने जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि संक्रमितहरु भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यस अन्तगर्तका सम्पुर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुनिल पाण्डेले बताए ।



नगरपालिका भित्र रहेका सार्वजानिक सेवा प्रवाह गर्ने संंघ संस्था, वित्तिय संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ । त्यसैगरि नगरपालिका भित्र सन्चालन हुने सार्वजानिक यातयातका साधनहरु तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरु बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
यस अवधिमा स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा तथा कार्यहरु, कोभिड–१९ सँग सम्बन्धित सम्पुर्ण कार्यहरु तथा विपद व्यवस्थापन सम्बन्धी कार्यहरु पनि पुर्ववत सन्चालनमा रहने नगरपालिकाले जनाएको छ । स्वास्थ्य सम्बन्धि यी सेवाहरु प्राप्त गर्न पनि व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्ने नगरपालिकाले जनाएको छ ।
सोमबार कोरोना पुष्टि भएका ति व्यक्तिलाई जि.पि.कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आइशोलेसनमा लगिएको र उनको सम्पर्कमा आएका सम्पुर्ण व्यक्तिको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा र परिवारका अन्य सदस्यहरुको पनि स्वाब परिक्षणको लागि पठाईएको नगरपालिकाका स्वास्थ शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।












