३ असोज, दमौली
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शुक्रबार र शनिबार तनहँु क्षेत्र नम्बर १ का दर्जनौं कार्यक्रममा सहभागिता जनाएका छन् । सांसद श्रेष्ठले शुक्रबार विहान व्यास नपा १ को ठुलो गाउँ टोल समुह र डमौली टोल समुहले राखेको सम्मान कार्यक्रममा सहभागिता जनाए ।




सो क्रममा सांसद श्रेष्ठको पहलमा विनियोजित बजेटबाट उक्त दुई टोलमा निर्मित पक्की नालाको सांसद श्रेष्ठले निरिक्षण गरेका थिए । सो क्रममा लालिगुरास आमा समुह, उज्वल आमा समुहका पदाधिकारीले सांसद श्रेष्ठलाई सम्मान र स्वागत गरेका थिए । त्यसैगरि शुक्रबार दिउँसो नेकपा जिल्ला कार्यालयमा नेपाल स्वतन्त्र यातयात मजदुर संगठन व्यास नगर कमिटिको आयोजनामा यातयात मजदुरलाई राहत वितरण कार्यक्रममा सांसद श्रेष्ठले कोभिड–१९ को कारण समस्यामा परेका यातयात क्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेका थिए ।

संगठनका अध्यक्ष सुर्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, प्रदेश कमिटिका सदस्य शंकरनारयण श्रेष्ठ, व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा सांसद श्रेष्ठले आफ्नो व्यक्तिगत तर्फबाट यातयात क्षेत्रका मजदुरलाई राहतकोलागि ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यसैगरि शुक्रबार दिउँसो भानु नगरपालिका वडा नम्बर १ मा सांसद श्रेष्ठले नेपाली काँग्रेस परित्याग गरेका दुई सय भन्दा बढि युवाहरुलाई नेकपामा प्रवेश गराएका थिए । सो कार्यक्रममा सांसद श्रेष्ठले अवको निर्वाचनमा भानु नगरपालिकालाई काँग्रेस मुक्त बनाउनु पर्ने बताए । पार्टी प्रवेश कार्यक्रम पछि सांसद श्रेष्ठले सोही वडामा निर्मित भन्सार खेल मैदानको निरिक्षण समेत गरेका थिए ।

यसैगरि साँझ बन्दिपुर गाउँपालिका र नेकपा बन्दिपुर गाउँ कमिटिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागिता जनाएका थिए । शनिबार विहान सांसद श्रेष्ठले व्यास नपा १ को कराङकाठ र सरस्वती टोलमा निर्मित पक्की नालाको निरिक्षण गरेका थिए । सांसद श्रेष्ठको पहलमा उक्त दुई टोलमा पक्की नाला निर्माणकोलागि शहरी विकास मन्त्रालयले एक करोड बजेट विनियोजन गरेको थियो । सोही अवसरमा सरस्वती आमा समुहले आयोजना गरेको सम्मान कार्यक्रममा सांसद श्रेष्ठले आफुले विकासको कार्यलाई प्राथमिकतामा राखेको बताए । सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, व्यास नपा ४ का वडा अध्यक्ष विश्व न्यौपाने, नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, वडा कमिटिका अध्यक्ष ज्ञानेन्द्र बसौला लगायतले मन्तव्य राखेका थिए ।

शनिबार विहान सांसद श्रेष्ठले व्यास नपा ४ स्थित शिवालय मार्गमा भईरहेको कालोपत्रेको निरिक्षण गरेका थिए । सांसद श्रेष्ठको पहलमा भौतिक पुर्वाधार मन्त्रालयले उक्त सडकको ९ सय मिटर खण्डमा पक्की नाला र कालोपत्रेकोलागि बजेट विनियोजन गरेको थियो । सो अवसरमा वेद व्यास टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमलाई सांसद श्रेष्ठले सम्बोधन गरेका थिए । यसैगरि शनिबार दिउँसो सांसद श्रेष्ठले आवुँखैरेनी गाउँपालिकाको एक्लेखेत र गोरखा जिल्ला जोड्ने मस्र्याङदी नदीमा पक्की पुल निर्माण हुन लागेको स्थानको निरिक्षण गरेका थिए भने दिउँसो नेकपा आवुँखैरेनी गाउँ कमिटिको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।












