११ मंसिर, दमौली
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले पुल निर्माणमा भईरहेको ढिलाईप्रति चासो दिएका छन् । बुद्ध सिंह मार्गको घुमाउनेघाट र मादी मरस्याङदी मार्गको कवादी खोलामा पक्की पुल निर्माणमा भईरहेको ढिलाईप्रति सांसद श्रेष्ठले चासो दिएका हुन् ।
सांसद श्रेष्ठले मंगलबार दुबै पुलका ठेकेदारलाई बोलाई सडक डिभिजन कार्यालय दमौलीमा लगी यथाशिघ्र पुल निर्माणको काम सुचारु गरि समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिए । दुबै सडकको पुल तनहँुका जनताकोलागि निकै महत्वपुर्ण भएकोहुँदा त्यसलाई प्राथमिकतामा राखेर काम गर्न सांसद श्रेष्ठले निर्माण कम्पनीका प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।



सो क्रममा घुमाउने पुलका ठेकेदार दिवश उप्रेती र मादी मरस्याङदी मार्गको कवादी खोला पुलका ठेकदार नन्दुलाल श्रेष्ठले अव थपिएको समय भित्र पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । सो क्रममा सांसद श्रेष्ठले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख अमितकुमार श्रेष्ठलाई पनि पुल निर्माणमा चासो दिन अनुरोध गरेका थिए । डिभिजन प्रमुख श्रेष्ठले अव निर्माणमा ढिलाई स्विकार्य नहुने बताएका थिए ।












