१३ मंसिर, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ बगन्दीका बासिन्दाले प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ समक्ष मोटरबाटो खन्न बजेट माग गरेका छन् । अहिलेसम्म मोटर बोटो नपुगेको बगन्दीका ५०÷६० जना बासिन्दाले सिमराबाट शनिबार दमौली जाँदै गरेका सांसद श्रेष्ठलाई मुग्लिङ–नारयणगढ सडकको गाईघाटमा भेट गरि यस पटकको स्थानीय पुर्वाधार विकास कार्यक्रमको बजेटले गाउँमा बाटो पु¥याउन माग गरेका थिए ।

अहिलेसम्म मोटरबाटो नपुग्दा आफुहरुले निकै दुःख पाईरहेको भन्दै जसरी पनि यस वर्ष भित्र बाटो पुग्ने गरि बजेट विनियोजन गर्न सांसद श्रेष्ठसँग अनुरोध गरेका थिए ।



स्थानीय जनतासँगको भेटमा सांसद श्रेष्ठले बगन्दीमा अहिलेसम्म मोटरबाटो सम्म नपुगेको सुन्दा निकै दुख लागेको भन्दै आउँदो बजेटमा सकेसम्म प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । सकेसम्म स्थानीय पुर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गर्ने त्यो सम्भव नभएर अर्काे कुनै श्रोत मार्फत भएपनि बगन्दीसम्म मोटर पु¥याएरै छाड्ने सांसद श्रेष्ठको प्रतिबद्धता थियो ।

सो अवसरमा देवघाट वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले पनि मोटरबाटोको लागि बजेट उपलब्ध गराउन सांसद श्रेष्ठ समक्ष अनुरोध गरेका थिए । केही रकम संघीय सरकारबाट र केही रकम वडा कार्यालय मार्फत विनियोजन गरि बगन्दीसम्म मोटरबाटो पु¥याउने योजना वडा अध्यक्ष गुरुङको थियो ।












