२९ बैशाख, देवघाट
सिद्धार्थ बैंक देवघाट शाखाले कोरोना रोकथाम र व्यवस्थापनकोलागि देवघाट गाउँपालिकालाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका देवघाट शाखाका प्रमुख त्रिबिक्रम लामिछानेले बुधबार देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापालाई दुइ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण गर्दै सिद्धार्थ बैक देवघाट शाखाका प्रमुख लामिछानेले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रणका तथा यसको कारण भएको लकडाउनबाट पिल्सिएका आर्थिक अवस्था कमजोर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुरको लागी र स्वास्थ्य क्षेत्रमा अभाव नहोस् भन्ने उद्देश्यले रकम सहयोग गरेको बताए ।



सो अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष थापाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस देशको विभिन्न स्थानहरुमा फैलिएको हुँदा देवघाट पनि पर्यटकीय र धार्मिक स्थल भएको हुनाले बाहिरी तथा अन्तरिक मानिसहरुलाई अनावश्यक आवतजावतमा थप कडाइ गरेको बताए । अध्यक्ष थापाले आर्थिक रुपमा बिपन्न वर्ग तथा ज्यालादारी मजदुरहरु र स्वास्थ्य क्षेत्रकोलागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोष खातामा रकम जम्मा गरि सहयोग गरेकोमा सिद्धार्थ बैक देवघाट शाखालाई धन्यवाद समेत दिए ।
देवघाट गाउँपालिकाले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुरको लागी सिद्धार्थ बैंक देवघाट शाखामा प्रकोप व्यवस्थापन कोष खाता खोलिएको देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमानाथ ढकालले जानकारी दिए ।
सो अवसरमा वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, वडा नम्बर ४का वडा सदस्य पशुपति तिवारी, प्रशासन साखा प्रमुख गोविन्द पौडेल, स्वास्थ्य साखा प्रमुख प्रदिप बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
देवघाट गाउँपालिकाले कोरोना भाईरस रोकथाम, नियन्त्रणका तथा आर्थिक बिपन्न वर्ग तथा ज्यालादारी मजदुरहरुको लागि सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ संस्थाहरुले देवघाट गाउँपालिकाको ग ७–२ स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता नम्बर ००८१५१७०२०० सिद्धार्थ बैंक देवघाट शाखामा जम्मा गरि सहयोग गर्नुहुन अनुरोध गरेको छ ।













