देवघाटमा जथाभावी माटो उत्खनन गर्दा भुक्षयको खतरा, गाउँलेले उपभोग गर्ने पानीको पाईप काटियो

Devghat Online

शेयर गरौ

देवघाट, चैत ६
देवघाट गाउँपालिका–५ स्थित विभिन्न नम्बरी, सार्वजानिक तथा ऐलानी जग्गाबाट नियम विपरित माटो उत्खनन गरिँदा स्थानीय बासिन्दाहरु मारमा परेका छन् । विभिन्न निर्माण कम्पनी तथा व्यक्तिले वडा कार्यालयबाट नम्बरी जग्गाबाट माटो उत्खनन गर्ने अनुमती लिएर सार्वजानिक जग्गाबाट समेत माटो उत्खनन गर्न थालेपछि स्थानीय बासिन्दाले चर्काे विरोध गरेका छन् ।
नम्बरी, सार्वाजनिक तथा ऐलानी जग्गामा जथाभावी रुपमा माटो उत्खनन गर्न थालेपछि स्थानीय टोल विकास संस्था तथा सामुदायीक वनका प्रतिनिधिले त्यसलाई रोक्न माग गरेका छन् । माटोको अवैध उत्खनन हुन थालेपछि इलाका प्रहरी कार्यालय देवघाटले त्यसलाई नियन्त्रणमा लिन सक्रियता देखाएपनि राजनैतिक पहुँचका आधारमा माटो निकालेको हुँदा कसैलाई पनि पक्राउ नगरेको एक स्थानीयले आरोप लगाए ।
सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले टोल विकास संस्थासँग कुनै पनि अनुमती नै नलिईकन माटो उत्खनन गरिएको बताए । यसबारेमा गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षलाई जानकारी गराउँदा विगतकै अनुमतीले माटो खनेको जवाफ दिएको डा. श्रेष्ठले बताए । टोलबासीको चर्काे विरोध पछि अहिले माटो उत्खनन गर्न रोकिएको उनले बताए । व्यक्तिको नम्बरी जग्गा सम्याउने भनेर अनुमती लिएर सामुदायीक वन क्षेत्रको नजिक पर्ने सार्वजानिक जग्गाबाट जथाभावीरुपमा माटो निकालिएको श्रेष्ठले बताए ।


राजनैतिक दबाबका कारण गाउँपालिकाका र प्रहरीले आखाँ चिम्लिँदा गाउँपालिकाको ठुलो राजस्व रकम गुम्ने स्वयं स्थानीय बासिन्दाहरुले बताए । अवैध तरिकाले ऐलानी जग्गाको माटो उत्खनन कार्य गर्नेलाई रोक्नको लागि गाउँपालिकामा ताकेता गर्दा गाउँपालिकाले पनि आलटाल गर्दै आएको स्थानीय बासिन्दाहरूको आरोप छ । ‘गाउँपालिकाले राजस्व गुमाउनु राम्रो भएन । त्यसबाहेक गाउँपालिकालाई राजस्व आउँछ भन्दैमा जनतालाई असर पर्ने गरी काम गर्नु पनि हुँदैन,’ उनीहरू भन्छन् ।
कालिकादेवी टोल विकास संस्थाका अध्यक्ष विष्णु अधिकारीले पनि नम्बरी जग्गा भन्दै ऐलानी जग्गाबाट माटो निकालेर विक्री गरिएको बताए । उनले सामुदायीक वनको सिमानामा पनि माटो उत्तखन भएको बताए । जथाभावी डोजर चलाउँदा किउँदी दोभानका गाउँलेले उपभोग गर्ने खानेपानीको पाईप फुटेको छ । जसको कारण किउँदी दोभानका बासिन्दा पानी खान बाट समेत बन्चित भएका छन् ।
मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले जथाभावी माटो उत्खनन गर्दा वर्षाको समयमा भुक्षयको खतरा रहेको बताए । बनसँगै जोडिएको सार्वजानिक जग्गामा माटो उत्खनन गर्दा वर्षाको समयमा पहिरो जाने खतरा रहेको उनले बताए । यसबारेमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई त्यही ल्याएर देखाएपनि उत्खनन गर्न कार्य नरोकिएको भन्दै उनले उल्टै ठेकेदारका मान्छेहरुसँग रिसईबी बढाईदिएको बताए ।


वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले हामीले पुर्जावाला जग्गाबाट निश्चित परिमाणमा मात्र माटो निकाल्ने अनुमति दिएको बताए । तर स्थानीयबाट ऐलनी जग्गाको माटो निकालेको गुनासो आएपछि आफुले स्थलगत रुपमा अनुगमन गरेको र हाल माटो उत्खनन गर्न रोक लगाईएको बताए । नियम विपरीत स्थानबाट तथा अनुमति दिएभन्दा बढी उत्खनन गरेको पुष्टि भएपछि जरिवाना समेत गराईएको वडा अध्यक्ष कुँवरले बताए ।
वडा अध्यक्ष कुँवरले घन्टाचुली कन्ट्रक्सन लाई ५ हजार ५४ घनमिटर अनुमती दिएकोमा ९ हजार ३ सय ३ घन मिटर उत्खनन गरेको भेटिएपछि ४ लाख भन्दा बढि जरिवाना गरिएको जानकारी दिए । त्यस्तै गायत्री श्रेष्ठले आफ्नै जग्गाबाट ६ हजार घनमिटर अनुमती लिएकोमा ३ सय घनमिटर बढि खनेकोमा उनलाई पनि जरिवाना गरिएको छ । त्यस्तै मधुवन सामुदायीक वनसँग जोडिएको स्थानमा सम्बन्धित जग्गा धनीलाई १४८४ घन मिटर मात्र माटो लाने अनुमती दिएकोमा अनुमती भन्दा धेरै उत्खनन गरेको तथा आफ्नै ऐलानी जग्गाबाट समेत माटो निकालेको हुँदा उनलाई शनिबारबाट माटो निकाल्न रोक लगाईएको वडा अध्यक्ष कुवँरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय