तनहुँ सहित चितवन र बारामा बैशाख १० गते उपचुनाव हुने

Devghat Online

शेयर गरौ

चैत २० गते उम्मेदवारको मनोनयन

काठमाण्डौं, चैत ६
निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा बैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उक्त तिन वटा निर्वाचन क्षेत्रमा बैशाख १० गते चुनावको मिति तोक्दै बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरेको छ ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम गत फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भई तनहुँ क्षेत्र न १ प्रतिनिधि सभा सदस्य रिक्त भएको र चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भई बारा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रवि लामिछाने नागरिकता सम्बन्धी मुद्धामा दोषी ठहर भई उनको सांसद पद गुमेपछि सो निर्वाचन क्षेत्र पनि रिक्त भएको थियो ।


यसरी रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा ७ बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट हुने व्यवस्था बमोजिम आयोगले उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन यस अघि नै चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको आयोगले जनाएको छ । जसअनुसार चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय