देवघाट अनलाइन
दमौली, बैशाख ९
तनहुँको क्षेत्र नम्बर १ मा आईतबार हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन–२०८० को कार्यतालिका अनुसार आईतबार विहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य हुने भएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतनिधि सभाको निर्वाचनमा निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि संविधान अनुसार रिक्त भएको यस क्षेत्रमा आज मतदान हुन लागेको हो ।
तनहुँ क्षेत्र नम्बर १ सहित उपनिर्वाचन हुने चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा पनि आज नै मतदानको कार्यक्रम रहेको छ । बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतीमा निर्वाचित भएको कारण उक्त निर्वाचन क्षेत्र पनि रिक्त रहेको थियो भने चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेको अमेरिकी नागरिकता त्यागको प्रक्रिया पुरा नभएको हुँदा सर्वाेच्च अदालतले लामिछानेलाई सांसद पदबाट मुक्त गरेपछि उक्त क्षेत्र पनि रिक्त भएको थियो । रिक्त रहेको निर्वाचन क्षेत्रमा ६ महिना भित्र उपनिर्वाचन गरिसक्ने प्रावधान अनुसार उक्त तिन वटै निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनको लागि तनहुँ १ मा नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । गत चैत २० गते उम्मेदबारको मनोनयन दर्ता गरिएको थियो । तनहुँ १ मा नेकपा एमालेबाट सर्वेन्द्र खनाल, नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोभा गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पुर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापती, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी (समाजबादी) बाट गणेश श्रेष्ठ उम्मेदबार रहेका छन् ।
उपनिर्वाचनकोलागि तनहुँ १ मा महिला ६३,७६५ र पुरुष ५९५४० गरि कुल १,२३,३०५ जना मतदाता रहेका छन् । उपनिर्वाचन सम्पन्न गर्न ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । सम्पुर्ण मतदान केन्द्रमा मतदानको सम्पुर्ण तयारी कार्य पुरा भईसकेको ढकालले बताए ।
मतदाता नामावलीमा नाम भएका १८ बर्ष उमेर पुगेका नेपाली नागरिकहरु मतदानमा भाग लिन सक्नेछन् ।
निर्वाचन आयोगका अनुसार अन्तिम मतदाता नामालीमा नाम भएका मतदाताले मतदानमा भाग लिन आउँदा निर्वाचन आयोगबाट जारी भएको फोटो सहितको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी तथा सवारी चालक अनुमतीपत्र मध्ये कुनै एकको सक्कल नै लिएर आउनु पर्ने हुन्छ ।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत सबै कर्मचारी र सुरक्षाकर्मी सहित मतदान प्रक्रियामा आवश्यक सम्पुर्ण सामाग्रीहरु सबै मतदान केन्द्रमा पुगीसकेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । त्यहाँको व्यवस्थापकीय र सुरक्षाका सम्पुर्ण तयारी पनि पुरा भइसकेको उनले बताए । निर्वाचनलाई निर्धक्क, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै तयारी गरिएको उनले जानकारी दिए ।
ज्येष्ठ नागरिक, अपांगता भएका मतदाता, बालबालिका सहितका महिलाहरुलाई लाइनमा बस्न नपर्ने गरी सहज तरिकाले मतदानमा सहभागी हुने व्यवस्था गरिएको उनले बताए । मतदान सम्पन्न भएपछी नजिकका मतदान केन्द्रबाट तुरुन्तै मतपेटिका संकलन गरी ल्याइने र टाढाका केन्द्रबाट १२ बजेसम्म मतपेटिका ल्याइ सक्ने गरी तयारी भएको बताइएको छ ।