बन्दिपुर, बैशाख २४
गाई भैँसीमा लाग्ने ‘लम्पि स्किन’ रोग बन्दिपुरका विभिन्न वडाहरुमा देखा परेपछि गाउँपालिकाले सजकता अपनाउन कृषकहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले आईतबार सुचना प्रकाशित गरि विभिन्न वडाका गाई भैंसीमा पोक्स भाईरसबाट लाग्ने लम्पि स्किन रोगसँग मिल्दो जुल्दो लक्षण देखा परेको हुँदा पशुपालन गर्ने कृषकहरुलाई सजकता अपनाउन आग्रह गरेको छ ।



निमित्त प्रमुख प्रशासकीय अधिकृत शुनिल पाण्डेले लम्पि स्किन रोगसँग मिल्दो जुल्दो लक्षण देखा परेको हुँदा पशुपालन गर्ने कृषकहरुलाई सजकता अपनाउन आग्रह गरिएको बताए । घरमा पालिएका पशुमा यस्तो रोगको लक्षण देखा परेमा तुरुन्त गाउँपालिकाको पशु पन्छी विकास शाखामा सम्पर्क राख्न पनि पाण्डेले कृषकहरुलाई अनुरोध गरेका छन् ।

‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको बन्दिपुर गाउँपालिकाका पशु पन्छी शाखा प्रमुख मधुविलास न्यौपानेले बताए । उनका अनुसार यो रोग किर्ना, भुसुना, झिँगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्छ ।
यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तु भाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्नु पर्ने न्यौपानेले बताए । गोठको मलखादको दुरी १० मिटर हुनु पर्ने, फिनेल पानीले नियमितरुपमा गोठ सरसफाई गर्नु पर्ने, पशु बाँध्ने गोठ वरीपरि खाल्टाखुल्टी पुरी पानी जम्न दिन नहुने, अनाधिकृत मानिसलाई गोठको वरीपरि जान दिन नहुने तथा रोगी पशुलाई अलग्गै राखी उपचार गरेमा यो रोग नियन्त्रण गर्न सकिने न्यौपानेले बताए ।
के हो लम्पि स्किन रोग ?
तिन वर्ष अघि नेपालको पूर्वी जिल्लाबाट यो रोगको सुरु भई गाईभैंसीमा नयाँ किसिमको रोगको महामारी फैलिएकोे हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षणपछि यो रोग पशु चिकित्सकले अनुमान गरे अनुसार नै ‘लम्पी स्किन’ भनिने नयाँ रोग भएको पुष्टि भएको थियो ।
यो रोग सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखिएको थियो । त्यसयता लामो समय अफ्रिकाको रैथाने रोगको रूपमा रहेको यस रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो । विशेषगरी सन् २०१२ पछि धेरै देशमा यो रोग महामारीका रूपमा फैलिन थालेको हो । मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, कजाकिस्तान, चीन हुँदै भारत र बंगलादेशमा गत वर्ष यो रोग भित्रिएको प्रमाणित भइसकेको छ । यस रोग मुख्यगरी लामखुट्टे, झिँगा, किर्ना आदिका टोकाइका माध्यमबाट सर्ने गर्छ ।
यो रोग लागेको पशुमा उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण गाईमा देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् । यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यस रोगमा देखिन्छन् ।
यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशतजति गाई बिरामी हुने र १ देखि ५ प्रतिशतसम्म मर्न सक्छन् । धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकाले खोरेँत रोगले जस्तै यो रोगले पनि ठूलो आर्थिक क्षति पु¥याउन सक्छ । यो रोग मानिसमा भने सर्दैन ।
संक्रमित गाईभैंसीको आवत जावत र लसपसबाट तथा संक्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा पनि यो रोग सर्ने गरेको पाइएको छ । उपचारका क्रममा विभिन्न किसानको घरमा जाने क्रममा प्राविधिकबाटै पनि यो रोग फैलिन सक्छ । त्यसकारण प्राविधिकले फरक गोठमा जाँदा निसंक्रमणका उपाय अपनाउनुका साथै फरक पशुलाई झुक्किएर पनि उही सुई प्रयोग गर्नुहुँदैन ।
यो भाइरसजन्य रोग भएको र यसको ठोस उपचार नभएको हुँदा प्राविधिकको सल्लाहमा लक्षण अनुसार उपचार गर्नुपर्छ । यस रोगको खोप विदेशमा भने उपलब्ध छ । रोग धेरै फैलिने अवस्था आएमा विदेशबाट आयात गरी खोप प्रयोग गर्न सकिन्छ । ‘लम्पी स्किन’ रोगकै खोप पनि उपलब्ध छ भने बाख्रा र भेडाको पक्स भाइरसको खोप पनि यस रोगविरुद्ध प्रभावकारी देखिएको छ । लामखुट्टे, किर्ना आदि बढ्ने वर्षात्को मौसममा यो रोगको प्रकोप बढी देखिने भएकाले वर्षात्अगाडि यो रोग देखिने ठाउँमा खोप लगाउन सकिन्छ ।
नियमित खोप नलगाएको अवस्थामा कुनै ठाउँमा केही पशुमा रोग देखिनासाथ केही किलोमिटर वरिपरिको क्षेत्रभित्र गाईभैंसीमा यो खोप लगाउन सकिन्छ। नेपालमा भर्खर यस रोग छिरेको हुँदा देशैभरि खोप लगाउनुभन्दा रोग देखिएको वरिपरिको क्षेत्रमा खोप लगाउन आर्थिक रूपले उपयुक्त हुन्छ । यस रोग रोकथामका लागि लामखुट्टे, झिँगा, किर्ना आदिको संख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सकभर सफा राख्नुपर्छ । रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन संक्रमित क्षेत्रबाट पशुको ओसारपसार नियन्त्रण गर्नुपर्छ ।












