दमौली, जेठ ३१
तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पारिश्रामिकबाट आवुँखैरेनी अस्पतालकोलागि थाईराईड परिक्षण मेसिन खरिद गरिने भएको छ । कर्मचारीहरुले आफुले खाईपाई आएको मासिक पारिश्रमिकबाट गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालको लागि थाईराइड जाँच गर्ने मेसिन खरिद गरिदिने भएका हुन् ।



गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको कर्मचारीहरुको बैठकले कर्मचारीहरुको मासिक तलबमा केहि प्रतिशत रकम कट्टा गरी उक्त मेसिन खरिद गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
यसका लागि गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीहरुको तह अनुसार न्युनतम १० देखि ५० प्रतिशतसम्म तलब कट्टा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
मेसिन खरिदका लागि करिब १० लाख रुपैयाँ लाग्ने भएको छ । आवुँखैरेनी गाउँपालिकामा गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सबै क्षेत्रमा गरि हाल करिब १३५ जना करार र दरबन्दीका कर्मचारी कार्यरत छन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नै पारिश्रमिकबाट अस्पतालको लागि थाइराईड मेसीन खरिद गरि सहयाग गर्ने निर्णय गरेपछि गाउँपालिका अध्यक्ष शुक्र चुमानले सबै कर्मचारीलाई धन्यवाद दिएका छन् । ‘यो निर्णयले अस्पतालको सेवा विस्तारमा सघाउ पुग्नेछ’ –उनले भने ।












