दमौली, जेठ ३१
नेकपा एमाले जिल्ला कमिटि तनहुँको बैठक बुधबार पार्टी कार्यालय दमौलीमा बसेको छ । जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले असार ७ गते भित्र सम्पुर्ण संगठित सदस्यको लेवी सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको छ ।
बेठकले असार १० गते भित्र सबै पालिका कमिटिको बैठक आयोजना गर्ने तथा असार १४ गते मदन जयन्तीको अवसरमा ‘जनताको बहुदलिय जनवादः आजको सान्दर्भिकता’ विषयमा पार्टी कार्यालयमा जिल्ला स्तरीय प्रवचन कार्यक्रमको आयोजना गर्ने र असार महिना भर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको जिल्ला सचिव राजेश्वर ढकालले जानकारी दिए ।
बैठकमा सबै जिल्ला कमिटीका सदस्य तथा पालिका कमिटिका अध्यक्षहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गरेका थिए भने पार्टी सदस्यता नविकरण तथा लेवी शुल्कको अवस्था, उपनिर्वाचनको समिक्षा लगायतको विषयमा छलफल भएको सचिव ढकालले बताए । बैठकमा जिल्ला कमिटीका अध्यक्ष श्रेष्ठले अघिल्लो बैठकबाट हालसम्म भएका निर्णय कार्यान्वयन र पार्टीको गतिविधिको बारेमा आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए ।
बैठकमा केन्द्रीय कमिटीको बैठकबाट तनहुँ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य तिलक महतलाई स्वागत गरि इन्चार्जसीप प्रदान गरिएको थियो । यसअघिका जिल्ला इन्चार्ज पोलिट्व्युरो सदस्य टुकराज सिग्देलले महतलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए । त्यस्तै यस अघिका जिल्ला इन्चार्ज सिग्देललाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।
बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलकबहादुर महत, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, केन्द्रीय सल्लाहकारद्वय एकबहादुर राना र नरेन्द्र वाग्ले तथा गन्डकी प्रदेश कमिटिका उपसचिव रश्मी आचार्य लगायतले मन्तव्य राखेका थिए ।