देवघाट, असार ५
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा योजनाबद्ध शहरीकरण र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । मंगलबार सुरु भएको देवघाट गाउँपालिकाको १२ औं गाउँ सभाको बजेट अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प समस्त गाउँपालिका बासीको समृद्धिको चाहाना र जनप्रतिनिधिका प्रतिबद्धताहरु रहेको बताए ।
दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दे गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समाबेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक बिकास मार्फत समृद्ध देवघाट गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्बजनिक, निजीक्षेत्र र समुदायको साझेदारि विकास गर्ने अध्यक्ष थापाले बताए ।
देवघाट गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, भूमिहिन अव्यवस्थित बसोवासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनावद्ध शहरीकरण तथा वस्ती विकासकोलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विषम परिस्थितिमा देशको अर्थतन्त्रलाई पुर्नउत्थानशील क्रियाकलाप मार्फत अगाडी बढाउदै तिब्र र दिगो आर्थिक विकास गरी समृद्ध नेपाल सुखी नेपालीको मुल लक्ष्य हासिल गर्नु परेको हुँदा यसका लागि देवघाट गाउँपालिकामा स्थानीय आर्थिक विकासका कार्यक्रमहरुलाई विशेष जोड दिनु पर्ने अवस्था सृजना भएको अध्यक्ष थापाले बताए । यसको लागि कृषि उत्पादन र उत्पादकत्व वुद्धिको लागि उच्च जोड दिनु पर्ने भएको थापाले बताए ।
गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाइ सुशानको अनुभूति जनमानसमा ल्याउन जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गर्न समेत अपरिहार्य रहेको हुँदा यसका लागि विद्युतीय सुशासन प्रणालीलाई सेवा प्रभावमा व्यापक र प्रभावकारी बनाउनु पर्ने अवस्था देखिएको अध्यक्ष थापाले बताए । शिक्षा र स्वास्थ्यका कार्यक्रमलाई उच्च स्थान दिई नागरिकको जीवनस्तरमा सुधार गर्नुपर्ने उनले आवश्यकता औंल्याए ।
मंगलबार गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएपनि उक्त नीति तथा कार्यक्रमको बारेमा आगामी असार १० गतेको बैठकमा छलफल गरि पारित गरिने तथा सोही दिन आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । उक्त गाउँसभामा गाउँसभाका सदस्य वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर र कार्यपालिका सदस्य होममाया खाँणले शुभकामना मन्तव्य राखेका थिए ।
६४ किलोमिटर सडक स्तरोन्नती
देवघाट गाउँपालिकाको चालु आर्थिक वर्षमा देवघाट गाउँपालिकामा पुर्वाधार तर्फ हालसम्म ६४ किलोमिटर सडक स्तरोन्नती, ११ किमि नयाँ ट्रयाक निर्माण भएको तथा सबै वडामा सडकको पहुँच पुगेको अध्यक्ष थापाले जानकारी दिए । साथै प्रदेश सरकारबाट ५ कि.मी सडक कालो पत्रे भएको छ । गाउँपालिका र शहरी पूर्वाधारबाट गरी ३१० मी. बाटो ढलान भएको छ। ३ वटा कलभर्ट निर्माण गरीएको छ । साथै १३५० मिटर पक्कि नाला निर्माण भएको छ । गाउँपालिकामा चालू आ.व.मा १२३ वटा आयोजना उपभोक्ता समितिबाट र ८ वटा ठेक्काबाट गरी जम्मा १३१ वटा आयोजना सम्पन्न भएका छन भने अन्य काम हुँदै रहेका छन् ।
त्यस्तै चालु आर्थिक वर्षमा ३५४ मिटर सिचाई कच्ची कुलो निर्माण भएको छ । गाउँपालिकामा रहेको १० शैयाको अस्पताल निर्माणधिन रहेको तथा कार्यालयबाट प्रबाह हुने सार्वाजनिक सेवा लगायत शिक्षा, स्वास्थ्य, बैंकिङ कारोबार आदिमा सूचना प्रविधिको प्रयोग भएको छ । विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरुको संलग्नता बढेको छ । युवाहरुको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान तथा अस्थायी कभर्डहल निर्माण भएको छ ।
स्वास्थ्य सेवामा उल्लेख्य प्रगति
स्वास्थ्य तर्फ निःशूल्क आँखा शिविर बाट ६३ जनाले सेवा पाएका छन भने सवै किसिका परिवार नियोजन कार्यक्रमबाट ३०४ जनाले सेवा पाएका छन् । देवघाट गाउँपालिकाका वडा नम्बर मा ३४५४ घरधुरी सर्वेक्षण सम्पन्न भएको छ । जेठ १२ गते देवघाट गाउँपालिकालाई पूर्णखोप पालिका घोषणा गरीएको छ । मातृ शिशु सेवा कार्यक्रम अन्तर्गत ३७७ जनालाई सेवा प्रदान गरीएको छ भने खोप क्लिनिकबाट पटक पटक गरी ८४९९जनालाई सेवा प्रदान गरीएको छ । राष्ट्रिय कार्यक्रमबाट जुकाको औषधी २२२५ जना ४ भिटामिन ए २४६८ जना बालबालिकाले प्राप्त गरेका छन ।
पुर्वाधार विकासमा जोड
पुर्वाधार तर्फ सडक निर्माण मापदण्ड बनाई विशेष मुल सडकको किनारमा फलफूल बिरुवा लगाई वातावणमैत्री सडक निर्माणमा जोड दिइने, उत्साहजनक जनसहभागिता जुट्ने, मितव्ययी गुणस्तरीय रोजगारी सिर्जना गर्ने तथा दिगोपना हुने खालको योजना उपभोक्ता समिति मार्फत गराईने, विगतमा निर्माण गरीएका मुख्य कच्ची सडकहरुलाई बाह्रै महिना चल्ने गरी स्तरवृद्धि गरिने, शुरु भएको आवश्यक अधुरो ट्रयाक पूरा गर्ने बाहेक आगामी आ.व. मा नयाँ ट्रयाक खोल्ने कार्य गरिने, शशालिग्राम कोरिडोर मार्गलाई गौरवको योजनाको रुपमा लिई प्रदेश सरकारलाई उक्त मार्ग छिटो र गुणस्तरीय रुपमा स्तरोन्नति गर्न गराउन निरन्तरसहयोग तथा पहल गरिने, पालिका भित्रका सबै सडकको प्राथमिकीकरणगरी स्तरोन्नति एवं स्तरवृद्धि गर्दै लगिने नीति रहेको छ ।
सडक मर्मत तथा निर्माणमा प्रयोग गर्न ब्याक लोडर खरिद गरिने, देवघाट– ५ क्यूदीमा निर्माण कार्य भईरहेको प्रशासकीय भवन निर्माण सम्पन्न गरी थप पूर्वाधारका काम गरिने, भौतिक पूर्वाधारका महत्वपूर्ण ठूला योजनाहरु (भवन, खानेपानी, ढल, सडक, पुल, तटवन्ध जस्ता) सञ्चालनका लागि प्रदेश सरकार, संघिय सरकार र दातृ निकायमा पहल गरिने, सार्वजनिक जग्गा एवं सम्पत्ति संरक्षण गरी वडागत लगत राख्ने कार्यलाई निरन्तर अगाडि बढाइने, आगामी ५ वर्ष भित्रमा प्रत्येक वडा कार्यालयलाई पक्कि सडक वा कालो पत्रेले हुने गरी काम अगाडि बढाईने रहेको छ ।
त्यसैगरि सार्वजनिक सडक बाटोको नक्साकंन गर्ने कार्यलाई अगाडी बढाइने, फोस्रेपानी देवघाट सडक गाउँपालिकाको गौरवको योजनामा राखी खोलिएको ट्रयाकलाई पूरा गरिने, देवघाट–४ गाईघाट र भरतपुर म.न.पा.–२९ भोर्ले चितवन जोड्ने त्रिशुली नदीतथाआवश्यक स्थानहरुमा पक्की पुल निर्माणको लागि पहल गरिने, आवश्यकता पहिचान भएका स्थानहरुमा क्रमशः झोलुङ्गे पुल निर्माण कार्य निरन्तर गर्दै लगिने नीति रहेको छ ।
स्वच्छ खानेपानी सेवा तथा सरसफाईमा जोड
खानेपानी तथा सरसफाई तर्फ अधुरो क्वादी खोला खानेपानी आयोजनलाई समयमा नै सम्पन्न गराई वितरण प्रणाली मार्फत २४ सै घण्टा खानेपानीको आपुर्ति व्यवस्था मिलाइने, व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइमा थप जोड दिदै पूर्ण सरसफाइ उन्मुख गाउँपालिका कार्यक्रमलाई निरन्तरता दिइने, खानेपानी मुहान संरक्षण तथा व्यवस्थापन अभियान सञ्चालन गरिने तथा पानी परीक्षण प्रयोगशााला निर्माण गरिने गाउँपालिकाको नीति रहेको छ ।
त्यसैगरि सम्पूर्ण खानेपानी आयोजनाको पानी परीक्षण गरिने र सुधारका कार्यक्रम ल्याइनेछ भने प्रदेश सरकार, संघीय सरकार, युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको सहलगानीमा सबै खानेपानी योजनाहरूमा सुरक्षित खानेपानीको योजनालाई निरन्तरता दिइनेछ ।
खानेपानी उपभोक्ता समितिको संस्थागत क्षमता विकास र चेतनामूलक कार्यक्रममा जोड दिइनेछ । ‘एक घर एक धारा’ सुरक्षित खानेपानी हाम्रो अभियानलाई प्राथमिकता दिई प्रभावकारी कार्यान्वयन गरिने छ । खानेपानीको स्रोत भएका कुवा, पधेरा, खोल्साको संरक्षणका लागि अभियान ल्याईने नीति रहेको छ ।
गाउँपालिका गौरबको आयोजना
जन–अपेक्षा तथा आवश्यकता भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका योजनाहरुलाई गाउँपालिका गौरवका योजनाको रुपमा लिइएको गाउँपालिकाले जनाएको छ ।
जसलाई उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षिय योजनाको रुपमा क्रमशः श्रोत साधनको व्यवस्था गरी सम्पन्न गरिनेछ । गौरवका योजनाहरुमा घण्टाचुली भ्यू टावर पर्यटकीय स्थल देवघाट–१ र २ घण्टाचुली, ऐतिहासिक प्याउली गढी, देवघाट–४ डुँडे, देवघाट–साउने, कर्ताप सडक, देवघाट–४ र ५, गाईघाट, काफलडाँडा छिपछिपे सानुभञ्ज्याङ्ग सडक, देवघाट– ४, १, ३ र २, सुन्तला पकेट क्षेत्र, बाख्रा पकेट क्षेत्र, देवघाट–३ र खाल्टे–मास्दीघाट सडक, देवघाट–२ रहेको छ ।
त्यसैगरि देवघाट गाउँपालिका अस्पताल, देवघाट–५, देवघाट धार्मिक पर्यटन पथ, गाउँपालिका प्रशासकीय भवन, दासढुंगा वेणी संगम पद मार्ग, घिनाटार–टाउन चोक कालो पत्रे आयोजना र क्वादी खानेपानी योजना पनि देवघाट गाउँपालिकाको गौरवको योजनाहरु रहेको जनाईएको छ ।