चितवन, असार १४
चितवनमा बिगत ६ महिनामा भएका ५० मानवअधिकार उल्लंघनको घटनामध्ये जबरजस्ती करणी र बाल यौन दुरुपयोगमा को घटनामा २६ बालिका पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले भरतपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ अर्ध वार्षिक समीक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो । १४ बालबालिका जबरजस्ती करणीमा पीडित भएका छन् भने १२ बालिका बाल यौन दुरुपयोगको शिकारमा परेका छन् ।
इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीकाअनुसार सन् २०२२ को जनवरीदेखि जुन महिनासम्म चितवनमा ६६ वटा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघन घटना दर्ता भएकोमा यस वर्ष सन् २०२३ को जनवरीदेखि जुनसम्म ५० वटा घटना दर्ता भएका छन् । जसमा जबरजस्ती करणीका २० घटना, दुई महिला करणी प्रयासका घटना, १२ बालिका बालयौन दुरुपयोगका घटना, चार महिला बहुविवाहका घटना भएको इन्सेकले अभिलेख गरेको प्रतिनिधि अधिकारीले जानकारी दिए । यस्तै चार महिला आत्महत्या दुरुत्साहनका घटना, एक पुरुष आत्महत्या दुरुत्साहनका घटना, एक महिला हत्या घटना, दुई पुरुष हत्या घटना, एक महिला बोक्सी आरोपका घटना र तीन बालिका मानव बेचबिखनका घटना भएको उनको भनाइ छ ।
कार्यक्रममा चितवनका न्यायाधिवक्ता योगनाथ ढकालले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटना समाधान गर्न पालिकाको सक्रियता चाहिने बताएका छन् । मानव अधिकार वर्ष पुस्तक–२०२४ अर्ध वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले मानवअधिकार उल्लंघन घटना समधान गर्न पालिकाको सक्रियता चाहिने बताएका हुन् । उनले जिल्लामा बालयौन दुरुपयोग, जबरजस्ती करणीजस्ता घटना बढेको हुनाले हरेक पालिकाले मानवअधिकार उलंघन घटनासँग सम्बन्धित कार्यक्रम गर्न सुझाव दिएका छन् ।
उनले भने, ‘हरेक पालिकाले यौंन दुरुपयोग, मानव बेचविखन, जबरजस्ती करणी, कसुर जन्य घटना, लागुऔषध जस्ता घटनाले के कस्ता असर पर्न सक्छ सक्दैन अथवा अपराध गर्दा के सजाय हुन्छ त भनी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ उनकाअनुसार समाजमा हुने हिंसाजन्य घटनाहरु बाहिर आउने क्रम बढी देखिएको छ । मानिसमा स्तर बृद्धि तथा हिंसा सहन, लुकाउन हुन्न भन्ने सोच भएकाले यस्ता घटना बाहिर आउने गरेको उनले बताए ।