दमौली, असार १८
व्यास नपा ४ स्थित रत्नहरी मेमोरियल अस्पतालमा लागेको ताला खुलेको छ । व्यास नपा १० का कमल शर्माको उपचारको क्रममा सो अस्पतालले लापरवाही गरेको आरोपमा मृतक शर्माका आफन्त र स्थानीय बासिन्दाले सोमबार साँझ अस्पतालमा ताला लगाएका थिए । विरामी भएपछि शर्मा गत असार १३ गते सो अस्पतालमा उपचारकोलागि भर्ना भएका थिए ।



स्वास्थ्यमा सुधार नभएपछि थप उपचारकोलागि पोखरा लैजाने क्रममा असार १६ गते बाटोमा शर्माको निधन भएको थियो । रत्नहरी अस्पतालले गम्भिर विरामीलाई धेरै दिनसम्म सो अस्पतालमै झुलाएर राखेको भन्दै मृतकका आफन्तले अस्पतालको लापरवाहीको कारण शर्माको मृत्यु भएको आरोप लगाएका छन् । शर्मा व्यास नगरपालिकाका इन्जिनियर हुन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकमा चार बुँदे सहमती भएपछि अस्पतालमा लगाईएको ताला खोलिएको हो ।
सहमतीमा शर्माको मृत्यु भएको घटनामा उपचारको क्रममा भएको कमी कमजोरी पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न मेडिकल काउन्सिललाई अनुरोध गर्ने तथा व्यास नगरपालिका भित्र सन्चालित अस्पतालहरु नेपाल सरकारले तय गरेका मापदण्ड अनुसार चलेका छन् या छैनन् भन्ने विषयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले असार १९ बुधबारदेखी नै अनुगमन गर्ने असार २१ गते भित्र यथार्थ विवतरण सार्वजानिक गर्ने सहमती भएको छ ।
यसैगरि मृतक शर्माको रत्नहरी अस्पतालमा उपचारको क्रममा भएको सत्यतथ्यको बारेमा अस्पताल प्रशासनले तत्काल यथार्थ विवरण सार्वजानिक गर्न पनि निर्देशन दिने सहमती भएको छ भने अस्पतालमा लगाईएको ताला तत्कालै खोल्ने सहमती पनि भएको थियो ।
सो छलफलमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रे, रत्नहरी अस्पतालका सन्चालक ताराप्रसाद श्रेष्ठ, अस्पतालका डाक्टर रामकुमार श्रेष्ठ तथा स्थानीय बासिन्दा र मृतकका आफन्तहरुको सहभागिता रहेको थियो ।












